हलिउड अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा प्रस्तोता क्रिस रकलाई थप्पड हानेका थिए। यो घटनाप्रति उनले अहिले माफी मागेका छन्। उनले सामाजिक सञ्जाल्मार्फत रकसँग माफी मागेका हुन्।
‘म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु क्रिस। मैले लाइन क्रस गरेँ, म गलत थिएँ। म लज्जित छु। प्रेम र दयाको दुनियाँमा हिंसाको कुनै ठाउँ छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले थप लेखेका छन्, ‘म एकेडेमी, शोका निर्माता, उपस्थित सबै मानिस र दुनियाँभरबाट हेर्ने सबैसँग माफी माग्न चाहन्छु। मेरो व्यवहारले सुन्दर यात्रामा एक दाग लाग्यो। आगामी दिनमा यस्तो काम हुने छैन र गर्दिनँ।’
सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले विल स्मिथकी श्रीमती जेडाप्रति व्यंग्य गरेका थिए।
जेडाको रोगलाई लिएर रकले मजाक गरेपछि स्मिथले मञ्चमै उक्लेर रकलाई थप्पड हानेका थिए। यसपछि रकले यो घटनालाई सामान्य रूपमै सल्टाउने प्रयास गरेका थिए।
अहिले आएर विल स्मिथले उनीसँग सार्वजनिक रूपमै माफी मागेका हुन्। विलले फिल्म ‘किङ रिचार्ड’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।