भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनासले आफ्नी छोरीको नाम राखेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूले छोरीको नाम मालती मेरी चोपडा जोनास राखेका हुन्। यसबारे प्रियंका र निकले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
गत माघमा उनीहरूले सरोगेसीका माध्यमबाट छोरीलाई जन्म दिएका हुन्। उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएका थिए।
छोरी जन्मेको खबर पनि उनीहरूले निकै समयपछि मात्र सार्वजनिक गरेका थिए।
अहिले छोरीको नामबारे उनीहरूलाई प्रशंसकहरूले सोधिरहेका छन्। मालती मेरी नाम राखिएको खबर बाहिरिएसँगै धेरैले यो नामको अर्थ के हो भनेर पनि जिज्ञासा राखेका छन्।
निक र प्रियंकाका निकटहरूका अनुसार उनीहरूले आ-आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका हुन्। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी उनीहरूले बीचको नाम (मिडल नेम) का रूपमा राखेको उनीहरूले जनाएका छन्।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार मालती संस्कृत शब्द हो जसको अर्थ वासनादार फूल र चन्द्रमा भन्ने लाग्छ। त्यस्तै फ्रेन्च शब्द मेरीको अर्थ समुद्रको तारा भन्ने हुन्छ।
त्यस्तै थरमा आमा र बाबु दुबैको चोपडा र जोनास राखेको बताइएको छ।
निक र प्रियंकाले सन् २०१८ मा बिहे गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। उनीहरूको भेट सन् २०१७ को 'मेट गाला' मा भएको थियो।
यसलगत्तै सन् २०१८ अगस्टमा उनीहरूको इंगेजमेन्ट भएको थियो भने त्यही साल डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्परा अनुसार बिहे गरेका थिए।
प्रियंका हालै हलिउड फिल्म 'द म्याट्रिक्स रिसरेक्सन्स' मा सतीको भूमिकामा देखिएकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो। उनी आफ्ना श्रीमान तथा देवरहरूको समूह 'जोनास ब्रदर्स' का गीतका भिडिओहरूमा पनि खेलिरहेकी छन्।
प्रियंका अब अमेजनको सिरिज 'सिटाडेल', हलिउड फिल्म 'टेक्स्ट फर यु' का साथै बलिउड फिल्म 'जी ले जरा' मा देखिँदैछिन्।