हलिउड फिल्म 'अवतारः द वे अफ वाटर'को टिजर सार्वजनिक भएको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्मको टिजर सोमबार सार्वजनिक भएको हो।
सार्वजनिक टिजरमा पानीमुनि विभिन्न निलो जीवहरूलाई देखाइएको छ। फिल्ममा सुलि परिवारका जेक, नियतिरी र उनीहरूका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको छ।
निर्देशक केमरुन र जोन लन्डानौले निर्माण गरेको फिल्ममा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतका अभिनय छ।
यही डिसेम्बर १६ तारिखमा प्रदर्शनमा आउने फिल्मलाई पूर्ण रूपमा अन्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार 'अवतारः द वे अफ वाटर' पहिलो श्रृंखलाको घटनाको एक दशक पछाडि सेट गरिएको छ।
यो फिल्म विश्वभर प्रदर्शन गर्नका लागि एक सय ६० भाषामा डब पनि गरिने भएको छ। फिल्मको लगानी २५० मिलियन अमेरिकी डलर (करिब तीस अर्ब ९५ करोड ४० लाख रूपैयाँ) रहेको छ।
उच्च प्रविधियुक्त भिएफएक्सको प्रयोगले पनि फिल्मको लगानी बढेको हो। निर्देशकले फिल्ममा प्रयोग भएको भिएफएक्सले वास्तविकतासँग अझ नजिक पुर्याउने बताएका छन्।
सन् २००९ मा प्रदर्शन भएको 'अवतार'ले विश्वव्यापी रूपमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको किर्तिमान राखेको थियो। फिल्मले २.८४ बिलियन अमेरिकी डलर कमाएको थियो।
१३ वर्ष अगाडि प्रदर्शन भएको फिल्म ‘अवतार’ डिज्ने स्टुडिओले पुनः प्रदर्शन गर्ने भएको छ। यो फिल्म असोज ७ गतेबाट नेपाल र भारतमा प्रदर्शन हुनेछ।