आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेका हलिउड अभिनेता जोनी डेपले क्षतिपूर्ति रकम नलिने भएका छन्।
जाेनी डेपले हर्डविरुद्ध तीन खाले मुद्दा हालेका थिए। दुई मुद्दामा जोनीलाई अदालतले सफाइ दिएको थियो। अदालतले जोनी डेपको मानहानी गरेको भन्दै हर्डलाई १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
तेस्रो मुद्दामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानी गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।
मिलापत्र गर्दा हर्डले जोनी डेपलाई १ करोड ३५ लाख अमेरिकी डलर तिर्नुपर्ने थियो। तर उनले आफ्नो पूर्वपत्नीबाट उक्त रकम नलिने घोषणा गरेका छन्।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार यस कुरालाई उनका वकिल बेन्जामिन च्यूले पुष्टि गरेका हुन्।
‘जोनीले पैसाको लागि मानहानीको मुद्दा हालेका थिएनन्। त्यसैले उनले पैसा नलिने बताएका छन्,’ वकिलले भने।
हलिउड अभिनेता जोनी डेपकी पूर्वपत्नी एम्बर हर्डले सन् २०१९ मा अखबारमा एक लेख लेख्दै डेपले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन्। डेपले बारम्बार आफूमाथि दुर्व्यवहार गरेको आरोप पनि उनले लगाएकी थिइन्।
उनको आरोपले आफ्नो मानहानी भएको भन्दै डेपले अदालतमा मानहानी मुद्दा हालेका थिए।