भारतीय अभिनेता धनुषको हलिउड फिल्म ‘द ग्रे म्यान’ २२ जुलाईबाट नेटफ्लिक्समा रिलिज हुँदैछ। यो उनको हलिउड डेब्यू फिल्म हो।
यो फिल्म केही हलमा जुलाई १५ देखि नै रिलिज भइसकेको छ। फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ।
हालै इन्डिया एक्सप्रेससँग कुराकानी गर्दै धनुषले आफ्नो अनुभव सेयर गरेका छन्।
यो फिलममा काम गर्दा आफूलाई जिम्मेवारी महसुस भएको बताउँदै धनुषले भने, ‘यो फिल्ममा काम गर्दा म कति पनि नर्भस भइनँ। जब पश्चिमी देशले भारतका प्रतिभाहरू हेरिरहेका छन्, मैले महसुस गरेँ कि उनीहरूबाट थप प्रतिभा लिएर आउनु पर्छ, मेरो दिमागमा त्यही कुरा थियो।’
‘मैले कुनै दबाब महसुस गरिनँ। रुसो ब्रदर्ससँग काम गर्न सरल र सहज भयो। उनीहरूले पात्रको बारेमा कुरा गर्दै सजिलो वातावरण सिर्जना गरिदिएका थिए,’ उनले थपे।
यो फिल्मलाई रुसो ब्रदर्स अर्थात् जो र एन्थोनीले निर्देशन गरेका हुन्।
फिल्म रिलिजअघि मिडियासँग कुराकानी गर्दै रुसो ब्रदर्सले पनि धनुषको तारिफ गरेका छन्।
‘हामीले मार्भल फिल्ममा काम गर्दैगर्दा अन्य फिल्महरूका एक्सन सिनहरू नियालिरहेका थियौं। मैले धनुषका धेरै एक्सन क्लिपहरू हेरेको थिएँ। दुई/तीन क्लिप हेर्ने बित्तिकै यो को हो भन्ने लागेको थियो। धनुषको एक्सनबाट उनलाई चिनेका थियौं,’ उनले भने।
फिल्ममा क्रिस इभान्स, रायन गोस्लिङ र एना डे आर्मास, जेसिका हेनविक, जुलिया बटर्सलगायत कलाकारको अभिनय छ।
केही दिनअगाडि 'क्याप्टेन अमेरिका' क्रिस इभान्सले पनि धनुषको तारिफ गरेका थिए। उनले धनुष एकदमै धैर्य र व्यावसायिक अभिनेता भएको भन्दै उनीसँग काम गर्नु आफ्नो गर्वको कुरा भएको बताएका थिए।