हिजाब नलगाएको आरोपमा इरानी अभिनेत्री सेपदेश रोश्नो पक्राउ परेकी छन्।
गत साता स्थानीय ट्रेनमा हिजाब लगाएका केही महिलासँगको भिडिओ सार्वजनिक भएपछि रोश्नोलाई इरान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकी अभिनेत्रीलाई यातना दिएर राष्ट्रिय टेलिभिजनमार्फत माफी माग्न लगाइएको थियो।
इस्लामिक गणतन्त्र इरानमा महिलाले टाउको छोप्ने कपडा वा ‘हिजाब’ लगाउन अनिवार्य छ। आदेश पालना नगर्ने महिलालाई पक्राउ गरी सरकारले कडा कारबाही गर्दै आएको छ।
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि हिजाबको नियम लागू भएको हो। यहाँको कानूनअनुसार ९ वर्षभन्दा माथिका युवती र महिलाले सार्वजनिक रूपमा टाउको छोप्नु अनिवार्य छ। राष्ट्रपति इब्राहिम राइसीले १५ अगस्टमा एउटा आदेशमा हस्ताक्षर गर्दै यसलाई ड्रेस कोडकै रूपमा कडाइका साथ लागू गरेका छन्।
यो सँगै इरानमा हिजाब नलगाई महिलाहरू कार्यालय र बैंक जान वा मेट्रो सेवा प्रयोग गर्न पाउँदैनन्।
२८ वर्षिय अभिनेत्री रोश्नोले हिजाब लगाउन अस्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार प्रहरीले उनलाई पक्राउ गरेर चरम यातना दिएपछि हिजाब लगाउन तालिवानको आदेश नमान्ने महिलाको मनमा त्रास पैदा गर्न भन्दै राष्ट्रिय टेलिभिजनमा ल्याएर माफी माग्न लगाइएको थियो।
यस क्रममा उनको टाउको छोपिएको थियो। अनुहारमा चोटपटक लागेको थियो।
खबर अनुसार रोश्नो विरूद्ध निकै गम्भीर आरोप लगाइएको छ। उनीमाथि हिजाबको नियम तोड्नुका साथै राष्ट्रिय सुरक्षामा गम्भीर खतरा निम्तयाएको आरोप लागेको छ। यो सँगै रोश्नोलाई १६ वर्षसम्म जेल सजाय हुनसक्नेछ।
यसैबीच अभिनेत्रीमाथि भएको ज्यादतीविरूद्ध इरानसँगै विश्वका केही देशमा आवाज उठिरहेको छ। यस्तै इरानको रिभोलुसनरी गार्ड्सले हालै सार्वजनिक स्थानमा नाचिरहेका केही युवतीलाई पनि पक्राउ गरेको छ।
यो सँगै ३३ वटा ब्यूटीपार्लर बन्द गरिएको छ। हिजाब नलगाउने १७ सय महिलालाई पनि सोधपुछका लागि बोलाइएको छ। पेशाले इन्जिनियर भए पनि इरानका राष्ट्रपति रायसीलाई कट्टरपन्थी मानिन्छ।