हलिउड फिल्म 'अवतार: द वे अफ वाटर' को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा पानीमुनि विभिन्न निलो जीवहरूलाई देखाइएको छ।
जेम्स क्यामरुनले निर्देशन गरेको फिल्ममा सुली परिवारका जेक, नियतिरी र उनका बालबच्चाको संघर्ष देखाइएको छ। फिल्म उनीहरूले एकअर्कालाई सुरक्षित राख्न र बाँच्नका लागि गरेको संघर्षमा आधारित छ।
निर्देशक जेम्स क्यामरुन र जोन ल्यान्डाउले निर्माण गरेको फिल्ममा साम वर्थिङटन, जो साल्डाना, सिगोर्नी विभर, स्टिफन लाङ, केट विन्सलेटलगायत कलाकारको अभिनय छ।
फिल्मको कथा जेम्स क्यामरुन, रिक जाफा, अमान्डा सिल्भर, जोश फ्राइडम्यान र शेन सालेर्नोले तयार पारेका हुन्।
फिल्मलाई पूर्णरूपमा अन्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार ‘अवतारः द वे अफ वाटर’ पहिलो श्रृंखलाको घटनाको एक दशक पछाडि सेट गरिएको छ।
फिल्मको लगानी २५० मिलियन अमेरिकी डलर रहेको छ। उच्च प्रविधियुक्त भिएफएक्सको प्रयोगले पनि फिल्मको लगानी बढेको हो।
निर्देशकले फिल्ममा प्रयोग भएको भिएफएक्सले वास्तविकतासँग अझ नजिक पुर्याउने बताएका छन्।
याे फिल्म डिसेम्बर १६ तारिखमा १६० भाषामा विश्वभर प्रदर्शन हुनेछ।
सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ले विश्वव्यापी रुपमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको कीर्तिमान राखेको थियो। फिल्मले २.८४ बिलियन अमेरिकी डलर कमाएको थियो।