हलिउड अभिनेता जेरेमी रेनरको स्वास्थ्यमा सुधार आएको छ।
केही दिनअघि लेक तेहोमा हिउँ सफा गरिरहेका बेला उनलाई चोट लागेको थियो। चोट लागेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा उनको शल्यक्रिया समेत गरिएको छ। उनले इन्स्टाग्राममार्फत एक तस्बिर सार्वजनिक गर्दै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्।
आफ्नो तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘तपाईंहरूको दयालु शब्दका लागि सबैलाई धन्यवाद। म अहिले धेरै कुरा टाइप गर्न सक्दिनँ तर म तपाईं सबैलाई माया पठाउँछु।’
अस्पतालबाट सार्वजनिक गरिएको तस्बिरमा उनको अनुहारमा चोट देखिन्छ। उनी आइतबार हिमआँधी दुर्घटनामा घाइते भएका थिए।
जेरेमी हलिउडका चर्चित अभिनेता हुन्। उनी दुई पटक अस्करको लागि मनोनित समेत भएका थिए। उनी फिल्म ‘द हर्ट लकर’ र ‘द टाउन’ का लागि अस्करमा मनोनित भएका हुन्।
‘मिसन इम्पोसिबल’ र मार्भल्स फिल्म सिरिजमा उनले अभिनय गरेका छन्। जसमा उनी हक-आइको नामले चर्चित भएका थिए।
पछिल्लो समय उनी २०२१ सालमा ‘ब्ल्याक विडो’ मा देखिएका थिए।