अमेरिकन पपगायक माइकल ज्याकसनको जीवनमा आधारित फिल्म 'माइकल' बन्ने भएको छ।
सञ्चारमाध्यम डेडलाइका अनुसार हलिउड स्टुडियो लायन्सगेटले माइकलमाथि बायोपिक बनाउन लागेको हो।
यो फिल्मलाई एन्टोइन फुक्वाले निर्देशन गर्नेछन्। ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्नेछन्। जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन्।
फिल्मको कथा ‘स्काइफल’ लेखक जोन लोगानले तयार पारिरहेका छन्।
‘मैले म्युजिक भिडिओबाट आफ्नो करियर सुरू गरेको थिएँ। मलाई अझै म फिल्म र संगीतको संयोजन हुँ जस्तो लाग्छ। मेरो लागि माइकल ज्याक्सन जस्तो सांगीतिक प्रतिभा भएको कुनै कलाकार छैन,’ निर्देशकले विज्ञप्तिमा लेखेका छन्।
सन् २००९ मा माइकलको ५० वर्षको उमेरमा हृदयाघातको कारण निधन भएको थियो।