'एकेडेमी अवार्ड' समेत भनिने अस्करको ९५ औं संस्करणमा कार्पेटको रङ परिर्वन गरिएको छ।
सोमबार अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेट राखिएको थियो।
रातो कार्पेट अस्करको सबैभन्दा ठूलो आकर्षण हो। प्रस्तोता जिम्मी किमेलका अनुसार बदलिँदो फेसन र संकट व्यवस्थापन गर्नका लागि कार्पेटको रङ परिवर्तन गरिएको हो।
रातो कार्पेटमा कलाकारहरूको पहिरन खुलेर नदेखिने भएका कारण स्याम्पेन रङको कार्पेट राखिएको छ।
अवार्ड शोका क्रिएटिभ कन्सल्टेन्ट्स लिसा लभ र राउल अविलाले कार्पेटको रङ तय गरेका हुन्। स्याम्पेन रङलाई अस्ताउँदो सूर्यको रङको प्रतिकको रूपमा हेरिन्छ।
यस वर्षको कार्पेटमा क्लासिक र प्रयोगात्मक फेसनको मिश्रण थियो। स्याम्पेन कार्पेटमा उत्कृष्ट अभिनेत्री विधामा अस्कर जितेकी मिसेल योह, रिहानादेखि लेडी गागासम्मको उपस्थिति थियो।
सन् १९६१ पछि कार्पेटको रङ पहिलो पटक परिवर्तन गरिएको हो। अमेरिकी अभिनेता बब होपले ३३ औं अस्कर अवार्डमा पहिलो पटक रातो कार्पेट राखेका थिए। त्यति बेलादेखि रातो कार्पेट अस्करको पहिचान बनेको थियो।
कार्पेटको रङ परिवर्तन भएपछि कतिपय कलाकारले ट्विटरमार्फत असन्तुष्टि व्यक्त गरेका थिए।
‘अस्करको कार्पेट मेरा घरको पर्दासँग मेल खान्छ,’ जेमी ली कर्टिसले भनेकी थिइन्।