ओस्कर विजेता हलिउड अभिनेता डेनियल डे लेवीसले अभिनयबाट सन्यास लिएका छन्। तीन पटक ओस्कार जित्न सफल डेनियलले एक विज्ञप्ति जारी गर्दै अभिनयबाट आफूले सन्यास लिएको घोषणा गरेका हुन्।
६० वर्षीय अभिनेता डेनियलले जारी गरेको विज्ञप्तिमा यो आफ्नो व्यक्तिगत निर्णय भएको र 'अब अभिनेताको रुपमा काम गर्दिनँ' भनेर उल्लेख गरिएको छ। उनले आफ्ना सबै सहकर्मी र दर्शकप्रति आभार पनि व्यक्त गरेका छन्।
बेलायत र आयरल्याण्डको नागरिकता भएका डेनियलले फिल्म 'माई लेफ्ट फुट (१९९०), देयर विल बी ब्लड (२००८) र लिंकन (२०१३)' का लागि उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए। विकीपेडियाका अनुसार उनी एक मात्र यस्ता पुरूष अभिनेता हुन् जसले तीनवटा 'उत्कृष्ट अभिनेता' का लागि ओस्कार जितेका छन्। क्याथरीन हेपवर्नले चार फिल्मबाट चारवटा उत्कृष्ट अभिनेत्रीको लागि ओस्कार जितेकी थिइन्।
उनका अरू राम्रा फिल्महरूमा 'द लास्ट अफ द मोहिकन्स (१९९२), इन द नेम अफ दि फादर (१९९३), दि बक्सर (१९९७) र ग्याङ्स अफ न्यूयोर्क (२००२)' पर्छन्।
उनको अभिनय जीवनको अन्तिम फिल्म 'फ्यान्टम थ्रेड' यसै वर्ष डिसेम्बर २५ मा रिलीज हुँदैछ। पल थोमस एन्डरसनको फिल्म 'फ्यान्टम थ्रेड' सन् १९५० को दशकको लन्डनको फेसनको दुनियाँमा आधारित फिल्म हो।
उनको सन्यास घोषणाले हलिउड फिल्मी जगतमा ठूलो रिक्तता आउने विश्लेषण गरिएको छ। तर, सन्यास लिनुको कारण उनले खुलाएका छैनन्।
उनकी श्रीमती लेखिका रेबेका मिलर हुन् र उनीहरूका तीन सन्तान छन्।