दक्षिण कोरियाली गायक पीएसवाइको ‘गङनम स्टाइल’ को रेकर्ड तोडिएको छ। विगत ५ वर्षदेखि यूट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियोको रुपमा रेकर्ड कायम गरेको यो गीतलाई अर्को गीत ‘सी यू अगेन’ ले पछि पारेको हो।
‘गङनम स्टाइल’ ले रिलीज भएदेखि नै यूट्युबमा वर्चस्व जमाएको थियो। यूट्युबमा यो हालसम्म २ अर्ब ८९ करोड ४४ लाख ७८ हजार ९० पटक हेरिइसकेको छ।
तर, पीएसवाइको यो गीतलाई अमेरिकी र्यापर वीज खालीफा र गायक चार्ली पथको ‘सी यू अगेन’ ले करिब १५ महिनाको अवधिमै उछिनेको छ। ‘सी यू अगेन’ अहिले २ अर्ब ८९ करोड ५५ लाख ३७ हजार ९ सय ५२ पटक हेरिएको छ।
‘गङनम स्टाइल’ भन्दा झण्डै १० लाख बढी पटक हेरिएको ‘सी यू अगेन’ हलिउड फिल्म ‘फास्ट एण्ड फ्यूरियस ७’ का लागि लेखिएको हो। यो गीतमा फिल्मका अभिनेता पल वाकरसँगका सम्झनाहरु सँगालिएका भिडियो क्लीप छन्। पल वाकरको फिल्म पूरा हुन अगावै कार दुर्घटनमा मृत्यु भएको थियो। वाकरको सम्झनामा यो गीत तयार गरिएको हो।
सन् २०१५ मा यो गीत सबैभन्दा बढी बिक्री हुने गीत बनेको थियो। ग्र्यामी र ओस्कारमा पनि यो उत्कृष्ट गीतको मनोनयनमा परेको थियो।