हलिउड गायिका तथा अभिनेत्री बियोन्सेको जीवन अब विश्वविद्यालयमा पढाइ हुने भएको छ।
डेनमार्कको कोपेनहेगन विश्वविद्यालयले नयाँ पाठ्यक्रम सुरु गरेको हो, जसको नाम नै छ– बियोन्से, जेन्डर र रेस (जात)।
स्थानीय टेलिभिजन स्टेशन टिभी २ का अनुसार ७५ जना विद्यार्थी यो विषय पढ्न आइसकेका छन्। विद्यार्थी धेरै भएकै कारण कक्षा सारेर ठूलो हलमा पढाइन्छ।
यो विषय प्राध्यापक एरिक स्टेन्सकगले पढाउँदै छन्। उनले पाठ्यक्रममा बियोन्सेका गीत रचना, भिडियोहरु र प्रस्तुतिबारे पढाउँछन्।
यसलाई कला र साँस्कृतिक शिक्षाअन्तर्गत पाठ्यक्रमकै हिसावमा तयार गरिएको उनी बताउँछन्।
‘हामी उनका (बियोन्से) गीत र भिडियो विश्लेषण गर्छौं जुन लैंगिक, यौनिक र जातीय पक्षमा केन्द्रित हुन्छ,’ प्राध्यापक स्टेन्सकगले भने, ‘हाम्रो उद्देश्य स्कान्डिनेभिया क्षेत्रमा परिचित नभएको काला जातिका महिलाको विचार चिनाउनु हो।’
बियोन्से नै यसका लागि उपयुक्त भएको बताउँदै उनले भने, ‘बियोन्से अहिलेको समयकी सबैभन्दा चर्चित पप गायिका हुन्। अहिलेको परिस्थितिमा उनको जीवनबारे अध्ययन गर्नु एकदमै जरुरी हुन्छ।’
कोपेनहेगन विश्वविद्यालयका अनुसार यो विषयको कक्षा भरिइसकेको छ।
प्राध्यापक स्टेन्सकग आफैं पनि बियोन्सेको फ्यान भएको स्वीकार्छन्। बियोन्सले पप संगीतलाई नयाँ बाटोमा डोर्याइरहेकी उनी बताउँछन्।
‘उनी विवादित महिलावादी पनि हुन् जो जरुरी पनि छ। उनले हामीलाई महिलावादी हुनुको अर्थ के हो र के हुन सक्छ भन्ने सोच्न बाध्य बनाएकी छन्,’ स्टेन्सकग भन्छन्, ‘उनीबाट प्रभावित नभइ रहनै सकिँदैन। उनी जे गर्छिन्, अत्यन्त राम्ररी गर्छिन्।’
बियोन्सेबारे विश्वविद्यालयमा पढाइने या पहिलो पटक भने होइन। अमेरिकाको न्यूजर्सीस्थित रटजर्स विश्वविद्यालयले पनि सन् २०१४ मा बियोन्सेलाई समेटेर एक विषय सुरु गरेको थियो। ‘वुमेन्स एण्ड जेन्डर स्टडिज’ विभाग मार्फत् विश्वविद्यालयलले ‘बियोन्सेमाथि राजनीति’ विषय सुरु गरेको थियो।
बियोन्सेको मात्र होइन, उनका श्रीमान जे–जेडबारे पनि पढाइ भएको थियो। जर्जटाउन विश्वविद्यालयले ‘हिपहपको समाजशास्त्र’ विषयमा जे–जेडलाई समावेश गरेको थियो।