सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अभिसु घिमिरे हो। म ७ वर्षको भएँ। नाागढुंगा, पोखरामा बस्छु। अब कक्षा एकबाट दुइमा जाने हो। मेरो विद्यालयको नाम सिर्जना आवासीय उच्च माध्यमिक विद्यालय हो। यो पोखराको सिर्जना चोकमा पर्छ।
म बिहान साढे सात बजे उठ्छु। उठेर तातो पानी र दूध खान्छु। बाबा र ममीले बिहान योग गर्नुहुन्छ। म पनि उहाँहरूसँग योग गर्छु।
योगभन्दा बढी मलाई बुद्धको 'ओम माने पद्मे हु...' भन्ने संगीतमा ध्यान गर्न आनन्द आउँछ। साँझ सुत्ने बेला यो संगीत लगायो भने एकैछिनमा निदाइहाल्छु। आजभोलि बिहान नियमित ध्यान गर्छु। ध्यानपछि बाबाले गृहकार्य दिनुहुन्छ। मेरो घर नजिकै दुई कक्षामा पढ्ने सुरेश दाइको किताब मागेर ल्याएको छु। त्यही हेरेर बाबाले गृहकार्य दिनुहुन्छ।
कहिले गणित, कहिले नेपाली, कहिले जिके, कहिले सामाजिक शिक्षाको लेख्न दिनुहुन्छ। हरेक दिन म दुई–तीन पेज लेख्छु। गणितको अभ्यास धेरै भयो, गरेको थिइनँ। एकदिन बाबाले १ देखि २० सम्म अंग्रेजीमा लेख्न दिनुभएको थियो। मैले त अंग्रेजीको शब्द नै बिर्सेछु। अब लेख्दै जान्छु।
बिहान खाना खाएपछि मलाई हजुरआमा, बाबा र ममीसँग चेस, लुडो, क्यारामबोर्ड खेल्न अति मनपर्छ। रमाइलो लाग्छ। मैले कति पटक बाबा, ममीलाई जितेको छु। हजुरआमालाई त सधैं जित्छु। दिउँसो खाजा खाएपछि हामी कहिलेकाहीँ फिल्म हेर्छौं।
मलाई भने मिस्टर बिन, बिल्प्री, मोर्फोका काटुनहरू हेर्न मनपर्छ। कहिलेकाहीँ मोटु–पत्लुको काटुन पनि हेर्छु। कोरोना भाइरसका कारण घरबाहिर जान नपाउँदा कहिलेकाहीँ बोर लाग्छ। गेट बाहिर हेर्छु। कोही मान्छे हिँडेको देख्दिनँ। अनि भित्रै बसेर खेल्छु।
आमाको रेडियोले कोरोना भाइरसबारे धेरै कुरा भनिरहन्छ। हात धुनुपर्ने रैछ। म पनि खाना खानुभन्दा अगाडि राम्रोसँग साबुनपानीले हात धुन्छु।
हिजो मामाको जन्मदिन थियो। जान पनि पाइनँ। जन्मदिनमा उहाँलाई चित्र बनाएर पठाएँ। फुर्सदको समयमा धेरैजसो चित्र बनाएर बस्छु। मैले बनाएको चित्र काठमाडौंबाट निस्कने पत्रिकामा पनि छापिएका छन्। चित्र तयार गरेपछि बाबाले इमेल गरिदिनुहुन्छ। ममीसँग टिकटक गर्न पनि रमाइलो लाग्छ। मैले ६ वटा टिकटक बनाइसकेँ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com
यी पनि पढ्नुस्ः
'कहिले घरबाहिर बस्नुपर्ने, कहिले घरभित्र'