म लगनखेलमा विगत २६ वर्षदेखि तरकारी बेच्दै आइरहेको छु।
आजभोलि किसानहरु पहिले जस्ता छैनन। उनीहरु आफैं बजारमा आएर भाउ बुझेर मात्र व्यापारीलाई कतिमा बेच्ने भन्ने निर्णय गर्छन्। आज कृषि क्षेत्र निकै सम्मानजनक पेशा बन्दै गएको मैले महशुष गरेको छु।
पढेलेखेका मान्छेहरु कृषि पेसामा लाग्दै गएका छन्। पछिल्लो समय तरकारीको भाउ आकासिएको थियो। भाउ अत्याधिक बढेरै आएपछि हामीले पनि बढेको मूल्यमा बेच्नुबाहेक कुनै उपाय हँदैन।
अस्तिसम्म १ सय ३० रुपैयाँ रहेको गोलभेडाको भाउ आज ९० मा झरेको छ। त्यस्तै काउली पनि १ सय ४० बाट १ सयमा पुगेको छ। काउलीको सिजन सुरु भएकाले भाउ अझै घट्दै जान्छ।
तरकारी धेरै फल्यो र बजारमा आयो भने मूल्य घट्छ। बजारमा माग अनुसार आएन भने मूल्य बढ्छ। तर आम उपभोक्ताहरु यो सोच्दैनन्। उनीहरु त हामीलाई दोष लगाउँछन्।
धेरै नाफा खाएर बेचेको, कालोबजारी गरेको जस्ता आरोप सहनुपर्छ हामीले। आज विक्री नभएको तरकारी भोलि कुहिएर जान्छ। हामीले हरेक दिन आज ग्राहक नै आएका छैनन् कति घाटा लाग्ने हो भनेर सोच्दै बस्नुपर्छ।
हामी जस्ता साना व्यापारीले तरकारीमा के कालोबजारी गर्नु र ?