म विगत ७ वर्षदेखि ललितपुरको थैवमा डेरी पसल सञ्चालन गर्दै आइरहेकी छु। डेरी भए पनि मेरो मुख्य आयस्रोतको आधार चियाको व्यापार नै हो।
सामान्यतया मेरो पसलमा दैनिकरुपमा करिब एक सय कप चिया विक्री हुने गर्छ। शनिबार भने १ सय ३० कपसम्म हुने गर्छ। तर भर्खरै भएको चुनावले गर्दा भने मेरा चिया व्यापार दोब्बर भयो।
चुनाव हुने मितिभन्दा करिव एक महिनाअघि दैनिक रुपमा मेरो पसलमा मानिस चुनावी बहस गर्न आउँथे। नयाँ मान्छे आउने तथा पुरानाले पनि थपेर पिउने हुँदा दैनिक रुपमा २ सय ५० कपसम्म व्यापार हुने गर्थ्यो।
एक कपको १५ रुपैयाँका दरले ३ हजार ७५० रुपैयाँको विक्री हुने गर्थ्यो जसमध्ये २ हजार रुपैयाँ फाइदा हुने गर्थ्यो। चुनावमा कसले जित्यो भन्नेमा मलाई मतलव छैन तर यसले मेरा व्यापार बढाएकोमा खुसी छु।