म विगत ८ वर्षदेखि कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी व्यापार गर्दै आइरहेकी छु।
प्याजको मूल्य निरन्तर बढिरहेको छ र प्याजका लागि भारतको भर पर्नुपरेको मिडियाबाट खबर आइरहेको हुन्छ। प्याज पनि फलाउन नसक्ने, सबै कुरा भारतकै भर पर्नु पर्ने भनेर सरकारलाई गाली गरिरहेका मान्छेहरु पनि देख्छु।
म यस व्यापारमा लागेकाले यस कुरामा भने मेरो छुट्टै अनुभव छ। यहाँ प्याज भारतबाट मात्र हैन दोलखा, धादिङ, काभ्रेतिरबाट पनि आउँछ। तर तुलनात्मकरुपमा भारतीय भन्दा साना दाना हुने भएकाले उपभोक्ताहरु नेपाली प्याज किन्नै मान्दैनन्। मूल्य पनि दुबैको लगभग उस्तै हुन्छ।
भारतमा ठूलो स्तरमा खेती हुने भएकाले विभिन्न त्यहाँबाट आउने प्याज नै ठूला तथा आकर्षक देखिन्छन्। तर यहाँका किसानहरुले पर्याप्त मल पाउँदैनन्। त्यस्तै यहाँ सानो स्तरमा खेती गरिन्छ, त्यो पनि परम्परागत शैलीमा त्यसैले भारतीयसँग दाँज्दा फिक्का देखिन्छन्।
जस्तो भएपनि स्वदेशी किसानले फलाएको प्याजलाई प्राथमिकतामा राखेर किन्ने गरे त आयात त्यसै पनि घटिहाल्थ्यो। भान्छामा चैं विदेशी चाहिने अनि गाली चै सरकारलाई गर्नुभएन नि।