म केही वर्षदेखि कालिमाटीमा सुन्तला बेच्दै आइरहेको छु। यहीँ भएको गोदामबाट साहुसँग खरिद गर्छु र त्यसलाई खुद्रामा उपभोक्तालाई बेच्दै आएको छु।
गत वर्षभन्दा यसपालि बाहिरी जिल्लाहरुबाट आउने सुन्तलाको परिणाम निकै कम छ। सिजन चलेका बेला स्थानीय सुन्तला आउँछन् भने अफ सिजनमा भारतबाट आयात हुन्छ।
विगतका वर्षहरुमा हरेक विहान २० ट्रकभन्दा बढी सुन्तला भित्रने गर्थ्यो भने सिजन सुरु भइसक्दा पनि यसपालि भने ५ ट्रक जति मात्र आइरहेको छ।
यसले सुन्तलाको भाउ पनि केही बढेको छ। अहिले कालिमाटीमा साइज र गुणस्तर अनुसार मूल्य फरक पर्छ। हाल ‘ए’ बी’ र ‘सी’ गरी तीन श्रेणीका सुन्तलाहरु पाइन्छन्। दाग नभएका सग्ला तथा ठूला दाना परेका ‘ए’ श्रेणीमा पर्छन। ‘सी’ श्रेणीमा साना दाना तथा चोट लागेकाहरु तथा बी श्रेणीमा भने मध्यम सुन्तला पर्छन्।
हाल ए श्रेणीका सुन्तलाको ७० देखि ८०, बीका ४५ देखि ५५ तथा सी श्रेणीका ३० देखि ४० रुपैंयाँ प्रति केजीका दरले विक्री भइरहेको छ।
गत वर्ष भने ए श्रेणीका सुन्तलाको मूल्य ६० देखि ७०, बीको ३५ देखि ४५ र सीको २५ देखि ३५ रुपैंयाँ थियो।