गत शनिबार म बस्दै आएको शंखमुल क्षेत्रमा बिजुली गयो। लोडसेडिङ नभएको राजधानीमा एकाएक साँझ साढे ६ बजेतिर बिजुली गएपछि म त्यसको विकल्प खोज्न बजारतिर गएँ।
एउटा मैनबत्ती खोज्दै हिँडे, धेरै पसल चहारेँ। तर मैनबत्ती पाइनँ। अचेल बिजुली नै हुने लोडसेडिङ नहुने भएकाले मैनबत्ती आउन पनि छाडेको जवाफ किराना पसलेहरुले दिए। लगभग मैले एक दर्जन पसलमा सोधेँ, मैनबत्ती पाइनँ।
अनि म विद्युतीय सामान खोज्न थालेँ। बानेश्वरको फूटपाथमा विद्युतीय सामाग्रीहरु पनि भेटेँ। अनि ब्याट्रीबाट चल्ने साढे २ सय रुपैयाँको एउटा ‘लाइट’ ल्याएँ। ब्याट्रीसहित तीन सय रुपैयाँ खर्चिएँ।
कोठामा आउँदा साढे ७ बजेको थियो। बिजुली बत्ती अझै आएको थिएन। त्यही लाइट बालेर त्यो रात काम चलाएँ। एकाएक लोडसेडिङ हुँदाका दिनहरु सम्झिएँ। कुलमान घिसिङलाई सम्झिएँ। सायद घिसिङ त्यो स्थानमा नभएको भए, सधैं यस्तै हुन्थ्यो भन्ने लाग्यो। आखिर बिजुली भोलिपल्ट आयो, घिसिङलाई अझै पनि 'स्यालुट' गर्न मन लाग्छ।