केहि दिनअघि काम विशेषले भोटाहिटी गएको थिएँ। बिहान कोठाबाट हिँड्दा आकाश खुल्ला थियो त्यसैले छाता बोकेर हिँड्ने कुरै आएन।
तर दिउँसो तीन बजेपछि भने ठूलै पानी पर्ला जस्तो भयो। ठूलै पानी पर्ने संकेत देखिएपछि भोटाहिटीको पुलमा २ सयमा एउटा छाता किनें।
छाता किन्नेमा म मात्र नभई अन्य थुप्रै थिए। त्यसपछि ठूलै पानी पर्यो र छाता ओढेरै म पनि डल्लुस्थित डेरासम्म हिँडेर गएँ।
घर पुगेपछि साँझ ओल्टाइ पल्टाई हेर्दा भने छाताका दुईवटा डण्डी बाङगिएका रहेछन्। दिउँसो किन्दा राम्रै देखिएको छाताका डण्डी भाँचिएको देख्दा कमसल सामान परेको महशुस भयो।
भोलिपल्ट सोही छाता साट्न भनी भोटाहिटीको सोही पुल पुग्दा बेच्ने मानिस नै भेटिन। त्यसदिन भने मलाई फुटपाथ पसलेले मज्जाले ठग्यो। त्यस पछि सामान किन्दा ख्याल गर्नुपर्ने रहेछ भन्ने चेत पस्यो।