धेरै मूल्य तिरेपछि गुणस्तरीय बस्तु तथा सेवा पाइने भन्ने गरिन्छ। म दसैँका बेला राजधानीबाट घर फर्कँदा बस चालकले चितवनको रामनगरमा खाना खान रोके। खाना खाने बेला भएपछि बसका सबैजसो यात्रु ओर्लिए। ‘खाना खान, ट्वाइलेट गर्न झरौँ है’ भन्दै त्यहाँको होटलका कर्मचारीले चिच्याए।
यात्रुहरु कतिपय ट्वाइलेट गइसकेपछि बसमै गएर बसे भने कतिपयले त्यही होटलमा खाना खान बसे। खानाका लागि पहिलै पैसा तिरेर बस्नुपर्ने व्यवस्था गरिएको रहेछ। सादा खानाको डेढ सय, चिकन खानाको साढे २ सय र मटन खानाको साढे तीन सय मूल्य रहेछ।
म पनि साढे २ सय रुपैयाँ तिरेर चिकेन खाना खान बसेँ। पैसा पहिले नै तिरेर टोकन लिएर खाना लिनुपर्दोरहेछ। खाना त सबै चिसो भइसकेको थियो। बल्ल बल्ल प्लेटको आधा खाना खाइसकेपछि, खानै मन लागेन। खाना फाल्नुपर्यो।
मजस्तै धेरैले खाना फालेको देखेँ। यहाँ व्यवसाय गरेको हो कि सर्वसाधारणलाई लुट्न खोजेको हो ? आखिर खाना फालिए पनि फालेको खानाबाट त व्यापारीले कमाउँदैन होला।