राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले निर्वाचनमा जनतासँग मत माग्न जाँदा आफ्नो पार्टीले मात्रै एजेण्डा बोकेर जान सक्ने दाबी गरेका छन्।
पटक/पटक सरकारको नेतृत्व गरेका राजनीतिक दलहरूसँग निर्वाचनको लागि कुनै नयाँ एजेण्डा नरहेको भन्दै उनले पुरानै एजेण्डा बोकेर जानेहरूलाई जनताले विश्वास नगर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले पटक/पटक सरकारको नेतृत्व गरिसके पनि जनताका अपेक्षा पूरा गर्न नसकेकोले अब जनताले उनीहरूको विकल्प खोज्ने बताए।
‘उहाँहरूसँग कुनै नयाँ एजेण्डा नै छैन, शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बनिसक्दा पनि पुरानै एजेण्डा लिएर निर्वाचनमा जानुहुन्छ, केपी ओली, प्रचण्ड उहाँहरू पनि पटक/पटक सरकारको नेतृत्व गरिसक्नु भएको छ, सरकारमा पुगेको बेला केही नगर्ने अनि उहाँहरूलाई जनताले किन विश्वास गर्ने?,’ थापाले भने।
थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको दीर्घकालीन एजेण्डा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र रहे पनि अहिलेको प्रमुख एजेण्डा भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताए।
‘अहिले स्थानीय तहदेखि नै भ्रष्टाचार प्रमुख समस्याको रूपमा रहेको छ, भ्रष्टाचार अन्त्य नभएसम्म देशको कुनै पनि क्षेत्रको परिवर्तन हुन सक्दैन, त्यसैले जनतासामु जाँदा भ्रष्टाचार अन्त्यको मुद्दालाई हाम्रो पार्टीले प्रमुख मुद्दाको रूपमा उठाएको छ,’ उनले भने।
थापाले वर्तमान सरकारले संवैधानिक अंगहरूलाई कमजोर बनाउँदै जाँदा मुलुकमा बेथिति बढेको आरोप लगाए।
उनले सबै दलहरूको महाधिवेशन सम्पन्न हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै नेतृत्व परिवर्तन गरेको कारण जनमानसमा पार्टीको लोकप्रियता बढेको दाबी गरे।
आगामी वैशाख ८ गते बुटवलमा हुन गइरहेको पार्टीको आमसभाको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
बुटवलको गोलपार्कमा हुने उक्त आमसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बुटवल आउँदै छन्।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयका अनुसार पार्टीको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष लिङ्देन बुटवलमा पहिलोपटक आउन लागेका हुन्।
उदयले पार्टीको केन्द्रीय तहबाटै स्थानीय तहको निर्वाचनमा अरूसँग गठबन्धन नगर्ने निर्णय गरिएको र बुटवलमा पनि पार्टीले एक्लै चुनावमा जाने तयारी गरेको जानकारी दिए।
कतिपय क्षेत्रमा भने स्थानीय आवश्यकता र अवस्थालाई मध्यनजर गरी तालमेल गर्न सकिने उनले बताए।