सत्ता गठबन्धनको निर्देशनअनुसार ललितपुरमा जिल्ला समन्वय समिति गठनमा गठबन्धन दलहरूबीच तालमेल भएको छ।
गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’ का सदस्य पदमा तालमेल भएको हो । सोहीअनुसार सबै पदमा उम्मेदवार दर्ता भएको छ ।
तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट कुनै पदमा उम्मेदवारी नै परेन।
उम्मेदवारी नपरेपछि कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिवसमेत रहेका महाँकाल गाउँपालिका वडा नम्बर – ३ बाट सदस्य पदमा निर्वाचित ऋषिदेव फुयाँल प्रमुखमा निर्विरोध निर्वाचित भएका छन्।
उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भए।
खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन् ।
अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए। उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई आज जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान र शपथ ग्रहण गराउने भएको छ ।