नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको मेयर आफूले पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ।
घोराही नगरसमितिले मंगलबार घोराहीमा पत्रकार गरी गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिस्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो।
२०७४ सालको निर्वाचनमा एमालेका नरुलाल चौधरीले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए।
अहिले पनि चौधरी र डाँगीलाई दुबै पार्टीले मेयरका लागि सिफारिस गरिसकेका छन्। तर, टिकट पाउने सम्भावना क्षीण बनेपछि गौतमले भने सोमबार मात्रै माओवादी पार्टी त्यागेको घोषणा गरिसकेका छन्।
गठबन्धनका कारण यतिखेर घोराही माओवादीको भागका परेको चर्चा चलेसँगै नेपाली कांग्रेसले त्यसो गरिए परिणाम सुखद नहुने चेतावनी दिएको हो।
पत्रकार सम्मलेनमा कांग्रेस नगरसभापति तिलक रावतले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मूल्याङ्कन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरे।
गठबन्धनका कारण माओवादीका उम्मेदवारले मेयरको टिकट पाउने सम्भावना बढेसँगै कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिकट दिँदा परिणाम राम्रो नआउने भन्दै सजग तुल्याएको हो।
दाङ क्षेत्र नं. २ माओवादी नेता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र हो। उनकै अडानले घोराही माओवादीको भागमा परेको हल्लाहरू व्याप्त बनेसँगै कांग्रेसले टिकट आफूले नै पाउनुपर्ने दाबी गरेको हो।
सभापति रावतले गठबन्धनका नाममा २ नम्बर क्षेत्रका स्थानीय तहहरूमा कांग्रेसलाई शून्य बनाउन नसकिने तर्क गरे।
उनले अघिल्लो निर्वाचनको मत परिणाम र गठबन्धनले तयार गरेको उम्मेदवार चयनको मापदण्ड अनुसार घोराहीको नेतृत्वमा कांग्रेसको स्वाभाविक रूपमा हक रहेको दाबी गरे।
रावतले भने,‘आफ्नो राम्रो जनमत भएको क्षेत्र कमजोर माओवादीलाई दिन सकिँदैन र त्यसो भए परिणाम राम्रो आउन सक्दैन।’
कांग्रेस नगरसभापति रावतले गत स्थानीय तह निर्वाचनमा माओवादीबाट घोराहीको मेयर र उपमेयरका भिडेका उम्मेदवारहरू जीवन गौतम र सीता चौधरीले माओवादी छोडिसकेको हुँदा स्वाभाविक रूपमा कांग्रेसले मेयर पाउनुपर्ने दाबी प्रस्तुत गरे।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानका केसी, नेपाली कांग्रेसका जिल्ला सदस्यहरू बद्री खड्का, खेमराज विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव रमेश पाण्डेयलगायतको उपस्थिति थियो।
उम्मेदवार सिफारिसमा मनपरी गरेको भन्दै उजुरी
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा तहबाट विधानविपरीत उम्मेदवार सिफारिस गरिएको भन्दै घोराही उपमहानगरपालिका–५ का दुर्गा डाँगीले कांग्रेस क्षेत्रीय कार्यसमितिमा उजुरी दिएका छन्।
उनले लामो समयदेखि कांग्रेसमा आबद्ध भएर काम गरेको र पार्टीको नीति निर्देशन अनुसार योग्य र सक्षम व्यक्तिलाई पूर्वाग्रही रूपमा रोक्दै विधानविपरीत आफू निकटका मान्छेहरूलाई वडा कार्यसमितिले सिफारिस गरेको दाबीसहित कांग्रेस क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिमा उजुरी दिएका हुन्।
जसमा उनले आफूलाई वडा सदस्यको लागि एक योग्य उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्।
विगत लामो समयदेखि कांग्रेसमा आबद्ध भएर काम गरेको अनुभव रहेको र कांग्रेस भएकै कारण विभिन्न समयमा दु:ख समेत पाएको उनले उजुरीमा उल्लेख गरेका छन्।
जनताको सेवाका लागि वडा सदस्यका लागि दाबी पेस गरेकोमा गुटको आधारमा पूर्वग्राही रूपमा आफ्नो नाम सिफारिस नगर्नु अन्याय भएको उनले उजुरीमा उल्लेख गरेका छन्।
क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि समेत रहेका डाँगीले क्षेत्रीय कार्यसमितिलाई घटनाको सत्यतथ्यबारे छानबिन गर्दै वडा सदस्यको सूचीमा आफ्नो नाम समावेश गरेर न्यायोचित निर्णय गर्न माग गरेका छन्।
डाँगी २०३६ सालको जनमत संग्रहदेखि नेपाली कांग्रेसको कार्यकर्ता रहँदै आएका छन्।