पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ।
भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरमध्ये सबैमा मेयर र उपमेयरमध्ये एक उम्मेदवार कांग्रेसका हुने भएका छन्।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरमा मेयर उठाउने भएको छ भने भरतपुर, वीरगन्ज र पोखरामा उपमेयर उठाउने भएको छ।
उपमहानगरमध्ये धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरमा मेयर पाएको छ। त्यस्तै जनकपुर, जितपुर सिमरा, हेटौंडा र घोराहीमा कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने भएको छ।
२०७४ को चुनावमा यीमध्ये ललितपुर र विराटनगरमा कांग्रेसले मेयर र उपमेयर दुबै जितेको थियो भने काठमाडौं, भरतपुर र वीरगन्जमा उपमेयर जितेको थियो।
उपमहानगरमा धनगढी र कलैयामा मेयर र उपमेयर दुबै जितेको थियो भने नेपालगन्जमा उपमेयर जितेको थियो। धरानमा उपनिर्वाचनमा मेयर जितेको थियो।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा मेयर ललितपुरमा उपमेयर पाएको छ। घोराही र जितपुर सिमरामा मेयर उठाउन लागेको माओवादीले धनगढी र धरानमा उपमेयर पाएको छ।
पोखरामा मेयर पाएको नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरमा उपमेयर उठाउनेछ।
उपमहानगरमा उसले हेटौंडामा मेयर पाएको छ इटहरी, तुलसीपुर र बुटवलमा उपमेयर पाएको छ।
जनता समाजवादी पार्टीले वीरगन्ज र जनकपुरको मेयर पाएको छ भने कलैया र नेपालगन्जको उपमेयरमा उम्मेदवार उठाउने छ।
यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौं र पोखरा) एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।
उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो। धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए।
