सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताले महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउँदा प्रदेश १ का तीन वटै महानगर र उपमहानगरमा नेपाली कांग्रेसले नेतृत्व पाउने भएको छ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले हस्ताक्षर गरेको निर्णयअनुसार प्रदेश १ को एकमात्र महानगर विराटनगरमा गठबन्धनका तर्फबाट प्रमुख पदको उम्मेदवार कांग्रेसले पाउने भएको छ।
यसअघि एक्लै निर्वाचन लड्दा २०७४ मा कांग्रेसले महानगर प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेको थियो।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले बुधबार काठमाडौंमा भागबन्डा टुंग्याउँदा महानगर उपप्रमुखको उम्मेदवारी जनता समाजवादी पार्टीले पाउने भएको छ। जसपाले अघिल्लो स्थानीय निर्वाचनमा विराटनगरमा तेस्रो धेरै मत ल्याएको थियो।
कांग्रेसभित्र गठबन्धन विरोधी मानिने नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा चुनावी तालमेल नगर्न ठूलै दबाब थियो।
गठबन्धनका शीर्ष नेताहरूबीच मुलुकभरका महानगर र उपमहानगर बाँडफाँट गर्ने सहमति गरेपछि कांग्रेसको तालमेल विरोधी पक्ष ‘ब्याक’ भएको छ।
अब विराटनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनको प्रतिष्पर्धा सम्भवतः एमाले-राप्रपा नेपाल गठबन्धनसँग हुनेछ। यद्यपि एमाले र राप्रपा गठबन्धनको औपचारिक टुंगो भने लागिसकेको छैन।
एमाले महासचिव शंकर पोखरेलले पार्टीका तल्लो तहका कमिटीहरूलाई परिपत्र गरेर राप्रपा नेपाललगायतका दलसँग तालमेल गर्न निर्देशन दिइसकेका छन्।
विराटनगरमा कांग्रेसबाट प्रमुख पदमा धेरै जना नेताहरू दाबेदार छन्। हालका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, नागेश कोइराला लगायतका नेताहरू टिकट लिने दौडमा छन्। यीमध्ये नागेश कोइराला र इन्दिरा कार्की शेखर कोइराला पक्षका हुन् भने अन्य दाबेदारहरू सबै संस्थापन पक्षका हुन्।
गठबन्धनबाट महानगर उपप्रमुखको उम्मेदवारी पाउने भएको जसपाबाट नेताहरू उमेश यादव, अमरेन्द्र यादव, भूराज राई, तेजलाल कर्ण, भरत दाहाल लगायतका नेताहरू प्रमुख बन्ने दौडमा थिए। तर, केन्द्रको निर्णय अनुसार उपप्रमुख पाउने भएपछि उसले कसलाई अघि सार्छ टुंगो भइसकेको छैन। यीमध्ये अमरेन्द्र यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
विराटनगरमा एमालेले केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, नगर अध्यक्ष सागर थापा र प्रदेश सदस्य महेश भट्टराईको नाम सिफारिस गरेको छ।
यस्तै, उपमेयरमा लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरेको छ।
प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरेले पनि आकांक्षा राखेपछि उनको नाम ‘नोट’ मा राखेर पठाइएको छ।
प्रदेश १ का दुई उपमहानगर सुनसरीका इटहरी र धरान पनि गठबन्धनका क्रममा कांग्रेस नेतृत्वमै पुगेका छन् । यी दुवै उपमहानगर वामपन्थी किल्ला मानिन्थे। यद्यपि भागबन्डाका क्रममा दुबै उपमहानगर प्रमुखको उम्मेदवार कांग्रेसबाट हुने निश्चित भएको हो।
इटहरीमा कांग्रेसले प्रमुख पदको उम्मेदवार पाउँदा गठबन्धनबाट उपप्रमुखको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने भएको छ। २०७४ को निर्वाचनमा इटहरी प्रमुख–उपप्रमुख एमालेले जितेको थियो।
इटहरीमा कांग्रेसबाट प्रमुख पदमा दाबी गर्ने नेताहरूमा रोहित प्रसाई, हेमकर्ण पौडेल, भीम पौडेल, कल्पना चौधरी लगायतका छन्। उपप्रमुखमा उम्मेदवार पाउने निश्चित भएको नेकपा एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य केशव विष्ट प्रमुखको दाबीमा थिए। राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव विष्ट उपप्रमुखमा उठ्ने लगभग निश्चित भएको एकीकृत समाजवादी स्रोतले जनाएको छ।
‘अन्य विकल्पमा पनि छलफल हुनसक्छ,’ समाजवादी सुनसरीका एक नेताले भने, ‘अहिलेसम्म विष्टजी नै उपप्रमुखको उम्मेदवार हुने देखिन्छ।’
इटहरीमा गठबन्धनको प्रतिष्पर्धी एमाले प्रदेश १ कमिटीले इटहरी उपमहानगरपालिकाका हालका मेयर द्वारिकलाल चौधरीको नाम कटाएको छ।
उपमहानगर कमिटीले चौधरीको पनि नाम सिफारिस गरेको थियो। प्रदेश कमिटीले उनको नाम कटाएर अन्यको मात्र नाम केन्द्रमा पठाएको हो। प्रदेश कमिटीले इटहरीको मेयरमा नगर अध्यक्ष यामकुमार सुब्बा, हालकी उपमेयर लक्ष्मी गौतम, पार्टीका केन्द्रीय सदस्य तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम सिफारिस गरेको छ। उपमेयरमा सङ्गीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिश भएको छ। तथापि इटहरीमा एमालेले राप्रपा नेपाललाई उपमेयर दिएर तालमेल गर्ने सम्भावना रहेको नेताहरू बताउँछन्।
सुनसरीको धरान उपमहानगरमा कांग्रेसले मेयर पाउँदा नेकपा माओवादी केन्द्रले उपमेयर उम्मेदवारी दिने भएको छ। धरानमा यसअघि प्रमुख-उपप्रमुखसहित बहुमत पदमा एमाले उम्मेदवार विजयी भएका थिए। तत्कालीन उपमहानगर प्रमुख तारा सुब्बाको निधनपछि २०७६ मा भएको उपनिर्वाचनमा भने धरानमा कांग्रेस जितेको थियो।
धरानमा कांग्रेसबाट नौ जनाको नाम मेयरमा सिफारिश भएको छ। जसमा हालका मेयर तिलक राई, प्रदेश १ महामन्त्री उमेश थापा, नेताहरू सुजेन्द्र तामाङ, किशोर राई, पर्वत राई, अजय राई, गोविन्द दर्नाल, श्यामा रेग्मी, मिना पुलामी लगायतका नेता प्रमुखको दाबेदार छन्।
धरानमा उपप्रमुख उम्मेदवार पाउने निश्चित भएको माओवादीबाट फोक्वाहाङ सुब्बा (चोत्लुङ), अइन्द्रविक्रम वेघा, सुर्यबहादुर भट्टराई, चेतना सेरेङ लगायतका नेताहरु टिकट लिने होडमा छन्।
धरान उपमहानगरपालिकामा एमालेले मोतीराज सुनुवार, वर्तमान उपमेयर मञ्जु भण्डारी, विजय राई र मनोज मेन्याङबोसहित चार जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा भने वर्तमान उपमेयर भण्डारीसमेतको नाम छ। उनीसहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशीला पहाडी सिफारिस भएको एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिए।