सत्ता गठबन्धनमा रहेका दलहरूबीच ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी गठबन्धनको सहमति भएको छ।
जसअनुसार कांग्रेसले ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर पाएको छ भने ७ उपमहानगरपालिकामा मेयर र ४ उपमहानगरपालिकामा उपमेयर पाएको छ।
सत्तारूढ दलहरूले गठबन्धन गरेसँगै एमालेले ५ दलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। यद्यपि उसले पनि नेपाल परिवार दल, कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालेमल गर्ने निर्णय गरिसकेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि एमालेले तालमेलको लागि प्रयास गरेको छ।
२०७४ को मतलाई आधार मान्ने हो भने एमालेलाई गठबन्धनले असजिलो पार्ने स्पष्ट देखिएको छ।
२०७४ को स्थानीय तहमा एमालेले काठमाडौं महानगरपालिकामा मेयर र पोखरमा मेयर\उपमेयर जितेको थियो।
काठमाडौंमा एमालेले ६४ हजार ९ सय १३ मत ल्याएको थियो। नेपाली कांग्रेसले ४५ हजार २ सय ६९, माओवादी केन्द्रले ७ हजार ९ सय ६ मत ल्याएको थियो भने तत्कालीन नयाँ शक्ति (हालको जसपा) ले ६ हजार ५० मत ल्याएको थियो। तर उपमेयरमा भने कांग्रेस विजयी बनेको थियो। उपमेयरमा एमालेले राप्रपालई समर्थन गरेको थियो। राप्रपाले मेयरमा एमालेलाई समर्थन गरेको थियो।
गठबन्धनको मतभन्दा एमालेको मत धेरै छ। एमाले विभाजन भएकाले त्यसको प्रभाव कति पर्छ भनेर भने अनुमान गर्न सकिँदैन।
पोखरा-लेखनाथ महानगरपालिकामा एमालेले ६० हजार १ सय १८ मत ल्याएको थियो भने कांग्रेसले ४६ हजार ४ सय १६ मत ल्याएको थियो। जबकि पोखरामा कांग्रेसलाई मेयरमा माओवादीले समर्थन गरेको थियो।
उपमेयरमा एमालेले २१ हजार १ सय ३७ मत ल्याएको थियो भने कांग्रेसले २० हजार १ सय ८५ र माओवादी केन्द्रले ९ हजार ५१ मत ल्याएको थियो।
भरतपुर, विराटनगर, ललितपुर र वीरगंजमा भने एमाले पराजित भएको थियो। ललितपुर र विराटनगरमा कांग्रेसले मेयर र उपमेयर दुवैमा विजय हासिल गरेको थियो।
यसपटक ललितपुरमा गठबन्धनको तर्फबाट कांग्रेस मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिँदैछन्। विराटनगरमा कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दिँदैछन्। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी विजयी भएको थियो।भरतपुर र वीरगञ्जमा कांग्रेसले उपमेयरमा विजय हासिल गरेको थियो। वीरगञ्जमा तत्कालीन संघीय समाजवादी फोरमका (हाल जसपा) विजय सरावगी विजयी भएका थिए। यद्यपि सरावगी एमाले प्रवेश गरिसकेका छन्। गठबन्धनको तर्फबाट जसपाले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिँदैछन्।
११ उपमहानगरमध्ये एमालेले ८ वटामा विजय हासिल गरेको थियो।
धरानमा भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएपछि एमालेले जितेको संख्या ७ पुगेको थियो। अहिले इटहरी, जितपुर सिमारा, हेटौंडा, बुटवल, तुलसीपुर र घोरहीमा एमालेका मेयर छन्। एमालेले जनकपुर, कलैया, धनगढी र नेपालगञ्ज गुमाएको थियो।
२०७४ को निर्वाचनमा एमालेले जितेका उपमहानगरमा पाएको मतलाई आधार मान्ने हो भने हेटौंडा र बुटवलमा एमाले एक्लै बलियो छ।
यी दुवै उपमहानगरपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए। तर मेयर र उपमेयर दुवैमा एमाले विजयी भयो।अहिले दलहरूबीच भागबण्डा गर्दा हेटौंडाको मेयर एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले पाएको छ भने उपमेयर कांग्रेसले पाएको छ। बुटवलमा गठबन्धनको तर्फबाट कांग्रेसले मेयरको उम्मेदवार बनाउनेछ भने एकीकृत समाजवादीले उपमेयरको उम्मेदवार बनाउने छ।
एमालेले सुरूमा विजय हासिल गरेको धरानमा कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिनेछन्। त्यस्तै, इटहरीमा कांग्रेसको मेयरको उम्मेदवार र एकीकृत समाजवादीको उपमेयर उम्मेदवार हुनेछन्।
जितपुर-सिमारामा माओवादीले मेयरमा उम्मेदवारी दिनेछ भने कांग्रेसले उपमेयरमा उम्मेदवारी दिनेछ।
तुलसीपुर नगरपालिकामा कांग्रेसले मेयरमा र एकीकृत समाजावादीले उपमेयरमा उम्मेदवारी दिनेछ। घोराहीमा माओवादीले मेयरमा र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिनेछ।
एमालेले जित्न नसकेको जनकपुरको मेयर र उपमेयरमा राजपा विजयी भएको थियो। राजपाबाट निर्वाचित मेयरले जसपा रोजेका छन् भने उपमेयरले लोसपा रोजेका छन्। कलैयामा कांग्रेसले मेयर र उपमेयर दुवै पद जितेको थियो। अहिले मेयर कांग्रेसले पाएको छ भने उपमेयर जसपाको भागमा परेको छ।
नेपालगञ्जमा राप्रपाले मेयर जितेको थियो भने कांग्रेसले उपमेयर जितेको थियो। अबको निर्वाचनमा कांग्रेसले मेयरमा र जसपाले उपमेयरमा उम्मेदवारी दिँदैछन्।
धनगढीमा मेयर\उपमेयर दुवै कांग्रेसले जितेको थियो। यसपटक मेयरमा कांग्रेसले र उपमेयरमा माओवादीले उम्मेदवारी दिँदैछन्।
हेर्नुस्, पाँच वर्षअघि यस्तो थियो गठबन्धन र एमालेको मत
स्थानीय तह निर्वाचन २०७४ अन्तिम नतिजा |
|
गठबन्धन (महानगर) | एमाले (महानगर) | | गठबन्धन (उप-महानगर) | एमाले (उप-महानगर) |
| प्रमुख | उपप्रमुख | प्रमुख | उपप्रमुख | | प्रमुख | उपप्रमुख | प्रमुख | उपप्रमुख |
काठमाडौं | ५३१७५ | ६९४०० | ६४९१३ | ३४८५४ | धरान | २७२८६ | २००९८ | २०९७५ | २१२५६ |
ललितपुर | ३५३०३ | ३२७९८ | २४३१६ | १०५४० | इटहरी | २४७८१ | २३१८९ | २२६८९ | २१८९२ |
विराटनगर | ३७९८९ | ३१६७० | १७३२१ | १०५३६ | जनकपुर | ३८८०७ | ३४२९२ | ४८६५ | ४९७२ |
पोखरा | ४६४१६ | ५३१३४ | ६०११८ | ५६४४८ | कलैया | २४६७८ | २३३९३ | १०७१६ | १०३७२ |
वीरगन्ज | ५३६०२ | ५०५५१ | ८६८८ | 10324 | जितपुर-सिमरा | २३२४६ | २३३६१ | १४८६५ | १४४४९ |
भरतपुर | ४३१२७ | ४२९२४ | ४२९२४ | ३९५२५ | हेटौंडा | २२५०९ | १७०११ | २३१२४ | २३४३७ |
| बुटवल | २०८५१ | १४७९० | २३२४९ | २५३०१ |
घोराही | २९५६६ | ३०४२७ | २२०३० | २०१९२ |
तुलसीपुर | २७५९६ | २९२३६ | २२८५७ | २१०३७ |
नेपालगन्ज | २१३६९ | १७७९८ | ६९६५ | ७७७५ |
धनगढी | २४५३३ | २७६६० | ९९४६ | १२७६५ |