वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल हुने भएको छ। बिहिबार वीरगन्जमा पत्रकार सम्मेलन गरि नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी सहमति गरेका हुन्।
आगामी वैशाख ३० गते हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाले टुंगो लगाइसकेको छैन।
सरावगी वर्तमान मेयर हुन्। उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए।
एमालेका उम्मेदवार सरावगीका अनुसार वडासम्मै तालमेल गर्ने सहमति भइसकेको छ।
‘हामीले मेयर पाउने र लोसपाले उपमेयर पाउने गरि वीरगन्ज महानगरपालिकामा सहमति गरेका छौं, भोलिसम्ममा लोसपाले भने उपमेयरको टुंगो लगाउँछ होला’, सरावगीले भने, ‘मेयर उपमेयरसँगै वडासम्मै हाम्रो तालमेल हुनेछ। हामी एक दुई दिन भित्र सबै वडाको टुंगोमा पुग्छौ।’
यसअघि बुधबार सत्ता गठबन्धनले वीरगन्जको मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसलाई दिने सहमति भएको छ।