सत्तारूढ पाँच दलीय गठबन्धनका दलबीच प्रदेश १ का विभिन्न जिल्लामा स्थानीय तह बाँडफाँट सुरू भएको छ। अहिलेसम्म प्रदेशका तीन वटा जिल्लामा ती दलले भागबण्डा टुंग्याएका छन्। ताप्लेजुङ, भोजपुर र खोटाङका स्थानीय तहहरूमा गठबन्धनका दलहरूले भागबण्डा टुंग्याएका हुन्।
ताप्लेजुङका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय लिएका उनीहरूले भोजपुर र खोटाङका केही स्थानीय तहमा भने प्रतिस्पर्धा गर्ने निर्णय लिएका छन्।
ताप्लेजुङका स्थानीय तहहरूमध्ये फुङलिङ नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी पाउने सहमति भएको छ।
मौवाखोला गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको छ।
आठराई त्रिवेणीमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी, मिक्वाखोलामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले उम्मेदवारी पाउने सहमति भएको छ।
त्यसैगरी, मेरिङ्देन गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, फक्ताङलुङमा अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस, पाथिभरा याङवरकमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी, सिदिङ्वामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी, सिरिजंघामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले उम्मेदवारी पाउने सहमति भएको गठबन्धनको जिल्ला कार्यदलले जनाएको छ। जिल्ला समन्वय समितिमा प्रमुख माओवादी र उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ।
भोजपुर जिल्लामा पनि गठबन्धनले भागबण्डा टुंग्याउँदा दुइटा स्थानीय तहमा भने गठबन्धनबीच तालमेल नहुने माओवादी केन्द्रका नेता अजम्बर काङमाङले बताएका छन्।
आमचोक र अरूण गाउँपालिकमा गठबन्धन दलहरूले ‘मित्रवत प्रतिष्पर्धा गर्ने, गठबन्धन बाहेकका दलसँग तालमेल गरे कारबाही गर्ने’ निर्णय भएको नेता काङमाङले बताए।
भोजपुरमा भएको गठबन्धनको निर्णय अनुसार भोजपुर नगरपालिकामा मेयर कांग्रेसले र उपमेयर एकीकृत समाजवादीले पाउने भएका छन्।
षडानन्द नगरपालिकामा मेयर कांग्रेसले र उपमेयर माओवादी केन्द्रले पाउने भएका छन्। गाउँपालिकाहरूमध्ये रामप्रसाद राईमा अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस, पौवादुङ्मामा अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस, हतुवागढीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, टेम्केमैयुङमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, साल्पासिलिछोमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी र जिससमा प्रमुखमा जसपा र उपप्रमुख माओवादीले पाउने सहमति भएको छ।
खोटाङका चार स्थानीय तहमा गठबन्धन दलहरूबीच सहमति नहुँदा कांग्रेस बाहेकको गठबन्धन बनेको छ।
माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन हुँदा कांग्रेस अलग्गै चुनाव लड्ने भएको हो। एमालेको अलग्गै उम्मेदवारी हुने भएका कारण यी तहमा अब त्रिपक्षीय भीडन्त हुने भएको छ।
कांग्रेस बाहेकको गठबन्धन भएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादीले पाउने भएको छ।
त्यस्तै, केपिलासगढीमा अध्यक्ष एकीकृत समाजवादी, उपाध्यक्ष जसपा, साकेलामा अध्यक्ष माओवादी र उपाध्यक्ष जसपा, दिप्रुङचुईचुम्मामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले उम्मेदवारी दिने तय भएको छ।
यी चार तहमा कांग्रेसबाहेकको गठबन्धन बने पनि जिल्लाका अन्य तहमा भने कांग्रेस सहितको गठबन्धन बनेर तालमेल निश्चित भएको छ। जसअनुसार दिक्तेल-रूपाकोट मझुवागढी नगरमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले उम्मेदवारी पाउने भएका छन्।
बहरापोखरी गाउँपालिकामा अध्यक्ष कांग्रेस, उपाध्यक्ष एकीकृत समाजवादी, रावाबेंसीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, ऐंसेलुखर्कमा अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस, खोटेहाङमा अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस र जन्तेढुंगा गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षको उम्मेदवारी पाउने सहमति भएको छ।
प्रदेशका अन्य जिल्लाहरूको भागबण्डाबारे छलफल भइरहेको शुक्रबारसम्ममा धेरैतिरको टुंगो लाग्ने नेताहरूले बताएका छन्।