स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन्।
वि.सं २०७४ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौं योजना तथा कार्यक्रम ल्याउने आश्वासन दिए पनि हराएका थिए।
बस्तीका अगुवा मुसहर अमृत सदाका अनुसार अहिले नेताहरूको आगमनका कारण प्रत्येक दिन मुसहर बस्ती राति १/२ बजेसम्म जाग्राम बस्छ।
‘सबै चुनावमा लालपुर्जा बन्ने आसले नेतालाई भोट दिन्छु तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएनन्’, अगुवा मुसहर अमृत बताउँछन्।
जलेश्वर बजारबाट एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदायका कोही कुनै नेतालाई भेट्न जाँदा बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाजसमेत नगरिदिने गरेको बस्तीकी ६० वर्षीया मुसह तेतरी सदाले दुखेसो गरिन्।
‘हामीलाई आपत्विपत् पर्दा जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे। फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पन्छिन्थे’, तेतरीले थपिन्।
त्यही बस्तीमा अहिले नेताहरूको नियमित भिड लाग्छ।
‘स्थानीय तहको चुनावको मिति तय भएयता दिनहुँ आएर नेताहरू फेरि आफूले आगामी निर्वाचनमा मुसहरको मत पाएर जितेपछि तपाईंहरूका लागि विकासको लहर ल्याउने भनी भाषण सुरू गरिसकेका छन्। मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ’, बस्तीका अर्का ७० वर्षीया सिलिया सदाले बताइन्।
खैरा गाउँमा मुसहर समुदायको करिब ९० घर छ। उनीहरूका लागि न शौचालयको व्यवस्था छ न त खानेपानीमै सहजता छ। सिङ्गो बस्तीमा एक थानमात्रै खानेपानी ह्यान्डपाइप तथा प्रत्येक आठ–दश घरमा एउटा शौचालय छ त्यो पनि तीन रिङ्ग भएको जुन एक/दुई महिनामै भरेर सबैलाई फेरि वनमै शौच गर्ने बाध्यता रहने गरेको स्थानीयवासी ४५ वर्षीया सुकमरिया सदाले बताइन्।
उनका अनुसार नेताहरूले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेकाले प्रत्येक चुनावमा आफूहरूले भरोसा गरेर मत दिए पनि खानेपानी, नाला र सडक बनाउनुपर्ने वर्षौंदेखिको माग अहिले पनि यथावत् छ।
घर बनाइदिने, खानेपानी पाइप, स्कुल, नालालगायत विकासको काम गरिदिने आसले नेतालाई मत दिए पनि अहिलेसम्म बन्न नसकेको स्थानीयवासी लड्डु सदा बताउँछन्।
भारतीय सीमासँग जोडिएको जलेश्वर नगरपालिका जिल्लाको सबैभन्दा गहिरो ठाउँ हो। बर्षातमा घर-घरमा पानी पस्छ। मुसहर बस्ती ऐलानी जमिनमा छ। बस्तीका करिब १५० जनाको नागरिकता प्रमाणपत्र छैन। बुबाको नागरिकता नभएकै कारण छोराछोरीको समेत जन्मदर्ता नबन्दा तिनले विद्यालयको मुखसमेत हेर्न पाएका छैनन्।
मुसहरले गत चुनावमा नागरिकता र जन्मदर्ता बनाइदिने, बर्षातको पानी व्यवस्थापन गरिदिने, खानेपानी, सडक र सबै ऐलानी जमिनको लालपुर्जा बनाइदिनुपर्ने माग राखेका थिए।
अहिलेसम्म पनि बस्तीमा केही हुन सकेको छैन। अझै पनि दर्जनौं व्यक्ति नागरिकताविहीन, दर्जनौं बालबालिका जन्मदर्ताविहीन र बस्ती सडक– विद्यालय– खानेपानी– नालाविहीन छ।
स्थानीयवासी अर्जुन सदा भन्छन्, ‘बस्तीमा मात्र एउटा चापाकल (खानेपानी पाइप) छ। यहाँ गर्मीमा पानीको हाहाकार हुन्छ। लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ। नाला नबन्दा वर्षातमा घर डुब्छ। त्यसैले हरेक निर्वाचनमा हामीहरू यी माग अघि सार्छाैं र नेताहरूले आश्वासन दिएपछि मत दिन्छौं, तर हाम्रा माग अहिलेसम्म पूरा भएका छैनन्।’
खैरा गाउँभरि बिजुली बत्ती पुगे पनि मुसहर बस्ती चाहिँ बर्साैंदेखि अँध्यारो छ। गरिबी र विपन्नताले गर्दा कतिले बिजुलीबत्ती जडान नै गर्न सकेका छैनन् भने एक/दुई जनाले जडान गर्न चाहे पनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर नपाएको गुनासो गरेका छन्।
गाउँमा लाइन त छ, तर विद्युत कार्यालयले लालपुर्जा नभएकालाई मिटर दिन मानेको छैन, विद्युत चुहावट गर्यो भने प्रहरीले समात्छ।
स्थानीयवासी सिरिया सदा भन्छिन्, ‘मुसहर बस्ती अझै उस्तै छ। यहाँका सबै सधैं अभावमा बाँचिरहेका छन्। बस्तीमा नेताहरू भोट माग्न मात्रै आउँछन्। भोट पाएपछि नेताको रङ फेरिन्छ तर बस्तीको रङ फेरिँदैन।’
नेपाल सरकारले भारतलाई पछि पार्दै बडो धुमधामका साथ देशलाई खुला दिसामुक्त घोषणासमेत गरिसकेको अवस्थामा बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ।
सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको स्थानीयवासी बिरु सदाको गुनासो छ।
जमिनदारको जमिनमा बटैया अर्थात् आधी/आधीमा उनीहरू खेती गर्छन् तर बर्सातको बेला खेत डुबानमा पर्छ।
वर्षा नभएका बेला खडेरी लागेर बाली नष्ट हुन्छ। त्यसको क्षतिपूर्ति हुँदैन। गरिबको भोको पेट भर्न कहिले कुनै पहल गरिँदैन’, अर्का स्थानीयवासी विमलेश सदाले दुखेसो पोख्नुभयो ।
बस्तीका वडाध्यक्ष अहिले लोसपा नेपालका सञ्जयकुमार पाण्डे र बस्ती रहेको क्षेत्रका नगर प्रमुख रामशङ्कर मिश्र शाही तथा सोही बस्ती समेटेको सङ्घीय निर्वाचन क्षेत्र नम्बर ३ का सङ्घीय सांसद लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ । त्यस्तै मधेश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ३ ख अन्तर्गत पर्ने सो क्षेत्रबाट मधेश प्रदेशका प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी हुनुहुन्छ । बर्साैँदेखि गरिबी, विपन्नता र समस्यासँग जुध्दै गरेका सो बस्तीका मुसहरका लागि वडाध्यक्ष, नगर प्रमुख, प्रदेशसभा सदस्य र सङ्घीय सांसदसमेतले अहिलेसम्म केही नगरिदिएको उनीहरूको सामूहिक गुनासो छ ।
अहिले मत माग्न बिहान, बेलुका र राति अबेरसम्म पनि दर्जनौं नेताहरू पुग्ने मुसहर बस्तीका ८५ बालबालिका जनप्रतिनिधिकै कारण जन्मदर्ताविहीन रहेको स्थानीयवासी मुसहरहरू आरोप लगाउँछन्।
सो सम्बन्धमा कतैबाट कुनै सहयोग नपाएको दुखेसो स्थानीयवासी बिरजु सदाले गरे। जन्मदर्ताका अभावमा सो बस्तीका बालबालिका संघीय सरकारबाट प्राप्त हुने पोषणभत्ता, बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाट समेत बञ्चित रहेको बताइएको छ।
वडाध्यक्ष पाण्डेले सो बस्तीमा पुस्तौंदेखि बस्दै आएका अभिभावकसँग नागरिकता प्रमाणपत्र नरहेका कारण बालबालिका पनि जन्मदर्ताविहीन रहेको बताए।
उनले भने,‘मैले पटकपटक उनीहरूका लागि नागरिकता प्रमाणपत्र र जन्मदर्ता बनाउने प्रयास गरेको छु र अझै पनि लागिरहेको छु।’