५४ वर्षीय चुडामणि वली (आदर्श) लाई आजकल भ्याइनभ्याई छ। उनी झिसमिसेदेखि गोधुली साँझसम्म भोट माग्दै गाउँघरमा हिँडिरहेका छन्।
मानिसहरूको जमघट हुने स्थल चौतारा, पानी पँधेरो, खेतबारी र वन जंगलमा पनि पुगिरहेका छन्। समर्थक र दलबलसहित जनताको घर आँगन तथा खेतबारीमै पुगेर पनि वलीले भोट माग्दै हिँडेका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वलीले रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाको अध्यक्षमा भिड्ने तयारीस्वरूप यो सब दौडधुप गरिरहेका हुन्।
उनको दल निर्वाचन आयोगमा दर्ता नभए पनि उनी वैशाख ३० को निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचनमा भिड्ने तयारी गरिरहेका छन्।
आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको उनी दाबी गर्छन्।
‘करिब १३ हजार जति मतदाता होलान् र मैले जित्ने त ग्यारेन्टी हो,’ वलीले भने, ‘कति मत बढी ल्याएर जित्ने भन्ने मात्रै सवाल हो। त्यस्तै हो मैले ८ देखि ९ हजार मत प्राप्त गरी निर्वाचित हुनेछु।’
जनताले विश्वास गर्ने र आफ्नो जित निश्चित भइसकेको उनको दाबी छ।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रले यो गाउँपालिकाको अध्यक्ष झन्डै तीन सय भन्दा कम मतान्तरले जितेको थियो। त्यो बेला उनको पार्टी भने चुनाव बहिष्कार गरेको थियो।
‘पहिला जित्ने उम्मेदवार पनि बहिष्कारतिर आउन नसकेका मेरै कार्यकर्ता हुन्। र पाँच वर्ष मै थिएँ यहाँको सेक्रेटरी,’ उनले भने,‘यसपालि मेरो स्वतन्त्र उम्मेदवारी हुने निश्चित भएपछि माओवादी सबै मेरै पक्षमा उभिएका छन्।’
गाउँपालिकामा रहेका अधिकांश माओवादी आफ्नै कार्यकर्ता भएको हुँदा सबैले आफूलाई भोट दिने उनको दाबी छ।
तपाईंको दल त निर्वाचन आयोगमा दर्ता नै छैन र चुनाव लड्न तपाईंको पार्टीको नीति नै हैन? तपाईं किन गाउँपालिकाको अध्यक्षमा भिड्न लागेको? भन्ने प्रश्नमा वलीले आफूहरूको केन्द्रीय कमिटी बैठकले नै सम्भावना भएका स्थानमा उम्मेदवारी दिएर निर्वाचनमा भिड्ने नीति पारित गरेको जवाफ दिए।
केन्द्रीय कमिटी बैठकले राष्ट्रवादीहरू, एमसिसी विरोधी, स्वच्छ छवि भएकाहरूले स्वतन्त्रबाट उम्मेदवारी दिन सक्ने र त्यस्ता उम्मेदवारलाई पार्टीको अनुशासन नलाग्ने निर्णय भए अनुरूप नै आफू उम्मेदवार बनेको वलीले तर्क गरे।
‘स्वतन्त्र उठ्नलाई दल दर्ता वा पार्टी दर्ता किन गर्नुपर्यो,’ वलीले प्रश्न गरे, ‘दल हैन कुनै मोर्चाबाट गरे हुन्छ तर मोर्चा बनाउने समय रहेन। त्यसैले स्वतन्त्र उम्मेदवार बनेको हुँ।’
नेता वलीले गठबन्धनसँग आफूहरूको कुनै सरोकार नै नरहेको र अधिकांश जनताले आफूलाई रुचाउने गरेको जिकिर गरे।
‘गठबन्धन गरेर आए पनि ठिक छ र एक्ला-एक्लै भिडे पनि हामीलाई फरक पर्दैन,’ उनले अगाडि भने, ‘गंगादेवमा मैले मज्जाले चुनाव जितिहाल्छु।’
विगतमा आफूले पहल गरेर भएका विकास निर्माणका कामकै कारण आफूले चुनाव जित्ने पनि उनको दाबी छ।
कपुरकोटदेखि रूकुम मुसिकोटसम्मको बाटो, लिवाङदेखि जिनाबाङसम्मको बाटो, घर्ती गाउँदेखिको बाटो, होलेरीदेखि झुलानेटासम्मको बाटो आफ्नै पहलमा भएको उनले दाबी गरे।
जितेपछि के गर्छु भन्ने छ?
‘जितेपछि आकाश खसाउन त सकिँदैन, तर मैले एक नम्बरमा भ्रष्टाचार निर्मूल पार्छु,’ उनले भने।
२०४२ सालदेखि राजनीतिमा लागेका वली २०५२ सालदेखि २०५७ सालसम्म जेल परेका थिए
माओवादी सशस्त्र युद्ध हुँदै शान्ति प्रक्रियामा पार्टी गएपछि उनी मोहन बैद्य (किरण) समूहमा लागेका थिए। त्यसपछि पछिल्लो समय उनी विप्लव समूहका नेता बनेका छन्।
गंगादेव गाउँपालिकाको अध्यक्ष उठ्न नेपाली कांग्रेसबाट हरि पुन, नेकपा माओवादी केन्द्रबाट अहिलेका अध्यक्ष वीरबहादुर खत्री र नेकपा एमालेबाट रोशन वलीको नाम चर्चामा छ।