पोखरा महानगरका मेयर दाबेदार एमाले सांसद कृष्ण थापाले आफूविरूद्ध षडयन्त्र भएको दाबी गरेका छन्।
पोखराको मेयर बन्नबाट आफूलाई रोक्न पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले षडयन्त्र गरेको थापाले आरोप लगाए।
नेकपा एमालेको केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकको निर्णय सुनाउँदै गुरूङले गण्डकी र लुम्बिनीका सांसदलाई पालिकामा टिकट नदिने बताएका थिए। गण्डकीमा सरकार परिवर्तन हुन सक्ने सम्भावना रहेको भन्दै सांसद संख्या घटाउन नहुने बताएका थिए।
गुरूङले राखेको उक्त धारणा पार्टीको निर्णय नभएको थापाले दाबी गरे।
‘मलाई रोक्न पृथ्वीसुब्बाले मनोगत षडयन्त्र गरे,’ उनले सेतोपाटीलाई भने, ‘सांसदलाई मेयर बन्न नदिने खालका कुनै निर्णय पार्टीले गरेको छैन।’
संघीय सरकार र गण्डकी प्रदेश सरकार संविधानको अन्तिम विकल्प अनुसार बनेको भन्दै उनले सरकार परिवर्तनको सम्भावना नरहेको बताए।
‘संविधान अनुसार गण्डकी सरकार अन्तिम सरकार हो, यो सरकारले बहुमत गुमाउँदा संसद विघटन भएर ६ महिनाभित्र चुनाव हुन्छ,’ सांसद थापाले भने, ‘पृथ्वीसुब्बाले सचिवालय बैठकमा जसपाका २ जना सांसद ल्याएर सरकार बनाउँछु भन्नुभएछ।’
जसपाका सांसदले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमालेसँग मिल्न आए पनि नयाँ सरकार गठन हुने सम्भावना नरहेको थापाले दाबी गरे।