नेकपा एमालेका गण्डकी प्रदेश सांसद कृष्ण थापा पोखरा महानगरपालिकाको मेयर बन्न चाहन्छन्। एमाले महानगर कमिटीले पोखराका मेयर आकांक्षी थापासहित १२ जनाको नाम सिफारिस गरिसकेको छ। मेयर टिकट पाए सांसद पदबाट राजीनामा दिन उनी तयार छन्।
पोखराको मेयर बन्न थापाले हदैसम्मको जोडबल गरिरहेका छन्। एमाले केन्द्रीय सचिवालयको बिहीबारको बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गण्डकीका सांसदलाई मेयर टिकट नदिने बताए।
गुरुङको भनाइ भुइँमा खस्न नपाउँदै थापाले प्रतिक्रिया दिए– 'मलाई रोक्न पृथ्वी सुब्बाले मनोगत षड्यन्त्र गरे।'
पार्टीले यस्तो निर्णय नगरेको दाबी गर्दै उनले पोखरेली जनताले मेयर बन्न सुझाएकाले सांसद छाड्न तयार भएको बताए।
२०५४ सालको स्थानीय निर्वाचनमा पोखराका मेयर जितेका थापा एमाले केन्द्रीय सदस्यसमेत हुन्। ०५४ सालमा थालेका कार्यभार पूरा गर्न पनि आफू मेयर बन्न चाहेको उनले बताए। पोखरा महानगरमा २०७४ को निर्वाचनमा एमालेकै दुई तिहाई बहुमत आए पनि काम हुन नसकेको उनको टिप्पणी छ।
'मैले पोखरा निर्माणमा हिजो थालेका काम पूरा गर्नुपर्ने आवश्यकता पोखरेलीले देख्नुभएको छ,' उनले भने, '२०७४ मा हाम्रो दुई तिहाई बहुमत हुँदा पनि काम देखिएन। पोखराका लागि काम गर्न चाहेको हुँ।'
पोखराबाटै निर्वाचित एमालेका अर्का प्रदेश सांसद राजिव पहारी पनि मेयर बन्ने दौडमा छन्। एमाले पोखरा महानगर कमिटीले उनको पनि नाम सिफारिस गरेको छ। मेयर आकांक्षाबारे बुझ्न खोज्दा पहारी सम्पर्कमा आउन चाहेनन्।
नेपाली कांग्रेसका बहालवाला मन्त्री पनि पोखरा महानगरको मेयर बन्ने दौडमा थिए। गण्डकी सरकारका कानुनमन्त्री बिन्दुकुमार थापाले जनताको चाहना भन्दै मेयर टिकट पाए सांसद र मन्त्री पदबाट राजीनामा दिन तयार भएका थिए।
सत्तारुढ गठबन्धनबाट पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय भएसँगै थापाको मेयर दौड अन्त्य भइसकेको छ।
पोखरा महानगरमा एमालेकै अर्का मेयर आकांक्षी रश्मी आचार्यले भने एकै व्यक्तिले पटकपटक पद पाउने अवस्था अन्त्य हुनुपर्ने बताए।
'सांसदका रूपमा जनताले पठाएको म्यान्डेट पूरा नगरी फेरि जनताकै नाम भजाएर अर्को कोर्ष थाल्छु भन्नु बेइमानी हुन्छ। जनताको नाममा आफ्नो स्वार्थ पुरा गर्न खोजेको देखिन्छ,' उनले भने, 'निर्वाचित सांसद, मन्त्रीलाई फेरि तिमी मेयरमा आऊ भनेर कोही जनताले बोलाएको छैन। जनताको नाममा बेइमानी र झुट कुरा गर्न हुँदैन।'
सांसदको भूमिका पूरा नगरी कसैलाई अवसर नै अवसर दिनु त कसैले कहिल्यै अवसर नपाउने परिपाटी ठिक नभएको उनको तर्क छ।
‘कसैलाई अवसरको खातै खात, कसैले एक पटक पनि अवसर नपाउने कुरा राजनीतिक र साँस्कृतिक हिसाबले ठिक होइन,' उनले भने, 'जहाँ अवसर पायो, त्यहीँ दौडिने कुरा पनि बेठिक हो।’
बीस वर्षअघि पाएको जिम्मेवारीमा फेरि फर्कन्छु भन्नु गलत भएको उनले बताए।
कांग्रेसबाट पोखरा महानगरका मेयर दाबेदार गंगाधर पराजुलीले बहालवाला सांसद र मन्त्री हुँदाखाँदाको पद छाडेर पालिकामा आउन खोज्नु लोकतन्त्रविरूद्ध हुने बताए।
'सांसद र मन्त्रीको भूमिका संविधानले नै तोकिदिएको छ,' उनले भने, 'त्यो भूमिका पूरा गर्न नसक्ने व्यक्तिलाई फेरि पालिकाको प्रमुख बनाउन खोज्नु लोकतन्त्रविरूद्ध हुन जान्छ।'
पैसा र शक्तिको आडमा पार्टीभित्र एकै व्यक्तिको हालीमुहाली भइराख्नु गलत भएको भन्दै उनले यस्तो परिपाटी रोकिनुपर्ने बताए।
'नेताहरूले पैसा र शक्ति हेरेर टिकट वितरण गर्ने परिपाटी अब रोकिनुपर्छ,' उनले भने, 'काम गर्न सक्नेले अहिले भएकै पदमा बसेर गर्न सक्थे, नसक्नेहरू शक्तिको आडमा जताततै चहार्न खोजे।'
पालिकाले पाएका अधिकार र स्रोत साधनको दोहन गर्ने अवसर देखेकाले उच्च पदमा रहेकाहरू मेयर बन्न खोजेको पराजुलीको दाबी छ।