सत्तारूढ गठबन्धनबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति भएपछि नेपालीका कांग्रेसका जिल्ला नेताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
उनीहरूले आफूहरूले अब सामूहिक राजीनामा दिन लागेको बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै कांग्रेस जनकपुरका नगर सभापति मनोज साहले आफूसहित दर्जनौं नेता/कार्यकर्ताले राजीनामा दिन लागेको बताए।
पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने योजना रहेको उनले जानकारी दिए। राजीनामा घोषणा गर्न उनीहरूले शुक्रबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेका छन्।
‘यहाँका नेता कार्यकर्ताको भावनाविपरीत गठबन्धन गर्ने केन्द्रीय नीतिविरूद्ध हामी पार्टी परित्याग गर्न लागेका हौं। सभापति देउवाजीले पाटीलाई बर्बाद गर्न लागेपछि कांग्रेस जोगाउन हामी स्वतन्त्र भएर उम्मेदवारी दिन लागेका हौं,’उनले भने।
स्वतन्त्र रूपमै उपमेयरसहित २५ वटै वडामा कांग्रेसका साथीहरूसँग मिलेर वडाअध्यक्षको उमेदवारसमेत घोषणा गरिने उनले बताए। साहले यसअघि गठबन्धन गर्ने निर्णय सच्याउन केन्द्रीय नेतृत्वलाई २४ घन्टे अल्टिमेटम दिएका थिए। नेतृत्वले माग सम्बोधन नगर्ने भएपछि आफूहरू विद्रोह गर्ने निर्णयमा पुगेको उनले बताए। नगर सभापति साह कांग्रेस नेता विमलेन्द्र निधिनिकट हुन्। जनकपुरको मेयर जसपालाई दिने निर्णयको निधिले पनि सार्वजनिक रूपमा विरोध जनाएका छन्।
साह स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसबाट मेयरमा चुनाव लडेका थिए। राष्टिय जनता पार्टीका उम्मेदवार लालकिशोर साहसँग पराजित भएका थिए। त्यसयता उनी निरन्तर आउने निर्वाचन मेयर उठ्ने भनेर संगठन बलियो बनाउन लागेका थिए।