बाँकेको नेपालगन्ज उपमहानगरपालिका बासिन्दाले बितेका २८ वर्षमा दुई पटक मेयर चुने। २०५४ मा नगरपालिका रहेको नेपालगन्ज २०७४ मा उपमहानगर भयो तर मतदाता मेयर उही व्यक्ति छाने, धवलशमशेर राणा।
त्यो २० वर्षमा राणा आफूले भने एक पार्टीबाट अर्को पार्टीमा फड्को मारिसकेका थिए। २०५४ मा नेकपा (एमाले) बाट चुनाव लडेका उनी २०७४ मा मेयर उठ्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री बनिसकेका थिए।
राप्रपाको संगठनको बलियो भएर होइन व्यक्तिगत प्रभावका कारण उनले २०७४ को चुनाव जिते। अरू महानगर र उपमहानगरमा राप्रपाका उम्मेदवार निकै पछाडि हुँदा राणाले प्रतिष्पर्धी उम्मदेवारलाई झन्डै ४ हजार मतले पछि पारे।
राणाले १२ हजार ५ सय १५ मत ल्याए भने उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका सुरेशकुमार कनौडिया ८ हजार ७३० मत पाए।
दुई पटक नेपालगन्जको मेयर भइसकेका राणाले यसपालि फेरि मेयरमा नउठ्ने बताएका छन्। उनको ठाउँमा राप्रपाबाट को मेयरको उम्मेदवार बन्छ भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन।
यता, सत्तारूढ गठबन्धनका दलहरूले भने भागबन्डा गर्दा नेपालगन्जको मेयर कांग्रेसको भागमा पारेका छन्। मेयर आफ्नो भागमा परेपछि अहिले बाँके कांग्रेसका नेता नेपालगन्जको मेयर उम्मेदवार बन्न दौडधुप गरिरहेका छन्।
यसअघि कांग्रेसले १४ जनाको नाम मेयरका लागि सिफारिस गरे पनि पछिल्लो समय चर्चामा चार जनाको नाममात्रै छ।
युवामध्येबाट प्रशान्त बिष्ट र अहिलेकी उपमेयर उमा थापा मगरको नाम चर्चामा छ। बिष्ट लगातार तीन कार्यकाल नेपालगन्ज कांग्रेसको सभापति छन्। उनी नेविसंघ बाँकेका पूर्वअध्यक्ष पनि हुन्।
२०७४ सालमा पत्रकारिता छोडेर उपमेयरमा भिडेर जितेकी मगर मेयरका लागि एक्ली महिला आकांक्षी हुन्।
महिलाको सम्मान गरी पार्टीले टिकट थापा मगरलाई नै दिने सम्भावना पनि उत्तिकै रहेको जानकारहरू बताउँछन्।
पार्टीभित्र भने मगर संस्थापनइतर मानिन्छिन्। उनी संस्थापनइतरबाट मेयर आकांक्षा गर्ने उनी एक्ली नेता हुन्।
यीबाहेक पूर्वजिल्ला उपसभापति सुनिल नरसिंह राणा र सुरेशकुमार कनौडियाको नाम पनि मेयरका लागि चर्चामा छ।कनौडिया २०७४ सालको निर्वाचनमा पराजित भएका थिए।
यीमध्ये नेपालगन्जको मेयरको टिकट कसको पोल्टामा पर्छ? त्यसको छिनोफानो केन्द्रले शनिबारसम्म लगाउने अनुमान गरिएको छ।
पाँच दलीय गठबन्धनको सहमति अनुसार नेपालगञ्जको उपमेयर जनता समाजवादीलाई परेको छ। जसपा सांसद मोहम्मद इस्तियाक राईको गृहनगर रहेको नेपालगन्जमा जसपाको उपस्थिति पनि राम्रै छ। २०७४ को चुनावमा संघीय समाजवादी फोरमका उम्मेदवारले ५ हजारभन्दा बढी मत पाएका थिए। गठबन्धनको भागबन्डाअनुसार जसपाको भागमा नेपालगन्जको उपमेयर परेको छ। आफूहरूले मेयर नपाएको बाँके जसपाका नेताहरूमा केही असन्तुष्टि छ।
जसपाबाट जिल्ला अध्यक्ष कमरूद्दिन राई आफैं उपमेयर उम्मेदवार बन्ने सम्भावना रहेको स्रोतको दाबी छ।
नेपालगन्जमा एमालेको उपस्थिति पनि बलियो नै छ। गत चुनावमा उसले मेयरमा झन्डै सात हजार मत ल्याएको थियो।
यसपालि एमालेबाट नेपालगन्जको मेयरमा पशुपति दयाल मिश्र उम्मेदवार बन्दैछन्। उनको नाम यसअघि नै सर्वसम्मत रूपमा सिफारिस भइसकेको छ।
गठबन्धन र एमालेसँगै नेपालगन्जमा धवलशमशेर राणाले कसलाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् भन्ने पनि चासोको विषय छ। स्रोतका अनुसार राणाले राप्रपा भित्रबाट नभई बाहिरबाट ल्याएर नेपालगन्जमा मेयरको उम्मेदवार बनाउँदैछन्।
बिहीबारमात्रै माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेका नन्दलाल वैश्यलाई राप्रपाले उम्मेदवार बनाउने लगभग निश्चितजस्तै रहेको स्रोत बताउँछ।
नेपालगन्जमा लोकप्रिय छवि बनाएका वैश्यलाई राणाले मेयर उम्मेदवार बनाउने सर्तमै पार्टी प्रवेश गराएको स्रोतको दाबी छ।