पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष पवित्री कोहारले अन्तिम समयमा आएर पार्टी परिवर्तन गरेकी छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी कोहारले यसपटकको निर्वाचनको लागि उम्मेदवारी दिने दुई दिन अघिमात्रै कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्।
अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता निर्वाचित भए पनि उपाध्यक्षमा कांग्रेसबाट कोहार निर्वाचित भएकी थिइन्।
नेपाली कांग्रेसले यसपटक पनि कोहारलाई उम्मेदवार नबनाउने बताएपछि उनले फेरि उपाध्यक्षमा उम्मेदवारी दिनका लागि माओवादी केन्द्र प्रवेश गरेकी हुन्।
कोहारले फेरि पनि आफू उपाध्यक्ष पदमा दोहोरिने इच्छा रहेको पार्टीमा बताउँदै आएकी थिइन्।
नेपाली कांग्रेसले भने उपाध्यक्ष पदमा उम्मेदवारको लागि कोहारबाहेक दुई जनाको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रले उपाध्यक्ष पद दिने भएपछि कोहारले कांग्रेस छाडेको बताइएको छ।
कोहारलाई माओवादीका नेताहरूले शुक्रबार पार्टी प्रवेश गराएका थिए।
पश्चिम नवलपरासीका २ वटा पालिकामा सत्तारूढ पाँच दलीय गठबन्धन मिलेर निर्वाचनमा जाने सहमति गरिए पनि पाल्हिनन्दनसहित अन्य पालिकामा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने गरी उम्मेदवार सिफारिस भइरहेका छन्।