स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्नो उम्मेदवार सिफारिस गर्ने क्रम कर्णाली प्रदेशमा पनि चलिरहेको छ।
कर्णाली प्रदेशमा सत्ता साझेदार दलभन्दा उम्मेदवार सिफारिस गर्ने कुरामा नेकपा एमाले अगाडि देखिएको छ।
नेकपा एमालेले कर्णाली प्रदेशका धेरैजसो पालिकाका प्रमुख-उपप्रमुख तथा वडाध्यक्षका उम्मेदवारको टुंगो लगाइसकेको छ।
रूकुम पश्चिमका ६ वटै पालिकाका प्रमुख, उपप्रमुखहरू एमालेले टुंग्याइसकेको छ। यद्यपि एमालेका ती उम्मेदवारको बारेमा अन्तिम निर्णय गर्न भने बाँकी छ।
सत्ता गठबन्धन दलभित्र कुन दलले कुन पालिका पाउने भन्ने विषय नै टुंगिएको छैन।
‘अहिले त कुन पालिकामा सत्ता साझेदार दलमध्ये कसले पाउने भन्ने नै टुंगिन बाँकी छ, कतिपय पालिकाबाट सत्तारूढ दलले आफ्नो तर्फबाट उम्मेदवार छान्ने काम पनि गर्नुभएको छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘यो कुरा अन्तमा गठबन्धनको सहमतिमा टुंगिने विषय हो, आज वा भोलिसम्म टुंगिएला।’
कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये सत्तारूढ दलभित्रका कुन दलले कुन पालिका पाउने भन्नेबारे बिहीबारदेखि नै दलका प्रदेश प्रमुखहरूको नेतृत्वमा छलफल चलिरहेको छ।
स्थानीय चुनावमा सबैको चासो रहने वीरेन्द्रनगर नगरपालिकामा पनि नेकपा एमालेले मेयरका उम्मेदवारको लागि भनेर नामहरू सिफारिस गरिसकेको छ।
कर्णाली प्रदेशको राजधानी नगरपालिका भएकाले यसमा अधिकांश विषयमा अधिकांशको चासो रहन्छ।
नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवारका लागि भनेर तीन जनाको नाम सिफारिस गरेको छ।
एमालेका जिल्ला अध्यक्ष अमृत बिसीको नाम मेयरको उम्मेवारका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको छ। यस्तै हाल उपमेयर रहेकी मोहनमाया ढकाल र कुलमणि देवकोटाको नाम पनि मेयरको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।
‘अहिलेलाई वीरेन्द्रनगरको मेयरका उम्मेदवारका रूपमा तीन जनाको नाम सिफारिस गर्यौं, अब वीरेन्द्रनगरको उपमेयरसहित सुर्खेतका अरू पालिकाका प्रमुख-उपप्रमुख एवम् अध्यक्ष, उपाध्यक्षको उम्मेदवारको टुंगो भोलिसम्म लगाउँछौं,’ एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले भने।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारका लागि नामहरू सिफारिस गरिसकेको छ।
समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालका अनुसार खगेन्द्र पोखरेल, धना शाही र सुरेन्द्र बिसीको नाम वीरेन्द्रनगरको मेयरको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ। उनीहरू तीनै जना समाजवादीका कर्णाली प्रदेश सदस्य हुन्।
यस्तै, वीरबहादुर राना भोटे, नन्दा रेग्मी र रामुकमार दलार्मको नाम उपमेयरको उम्मेदवारको रूपमा समाजवादीले सिफारिस गरेको छ।
नेपाली कांग्रेस र माओवादी भने वीरेन्द्रनगरको प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंग्याउने विषयमा अझै अलमलमै छन्।
वीरेन्द्रनगरको मेयरको लागि अहिले कांग्रेसबाट आकांक्षी भने धेरै छन्। तीमध्ये अहिलेका मेयर देवकुमार सुवेदी, कांग्रेसका नगर सभापति उपेन्द्र खड्का पनि मेयरका आकांक्षी छन्।
यस्तै, अरू नेताहरू नारायण सापकोटा, कांग्रेसको जिल्ला कार्यसमिति सहसचिव हरि विष्टलगायतले पनि वीरेन्द्रनगरको मेयरमा आफ्नो दाबी गरिरहेका छन्।
कांग्रेसको सुर्खेत जिल्ला कार्यसमितिले भने यसबारे कुनै टुंगो लगाउन सकेको छैन।
वीरेन्द्रनगरसँगै सुर्खेतका अरू पालिकाहरूको उम्मेदवारीको बारेमा जिल्ला कार्य समितिमा कुनै सिफारिस नआएको जिल्ला सभापति खड्क पोखरेलले बताए।
वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरका लागि नाम टुंग्याइसके पनि नेकपा माओवादी केन्द्रले सार्वजनिक भने गरेको छैन।
‘नाम त भइसक्यो, अब सिफारिस गर्न बाँकी छ,’ माओवादीका सुर्खेत जिल्ला इञ्चार्ज सुदीप मल्लले भने, ‘अन्तिम हुने कुरा त सिफारिस गरेपछि र गठबन्धनले निर्णय गरेपछि मात्र होला।’