स्थानीय तहमा नेतृत्व लिने विषयमा कर्णाली प्रदेशमा सत्तागठबन्धन दलको बैठक जारी छ।
सत्ता गठबन्धन दलका प्रदेशस्थित नेता तथा कार्यकर्ताहरू बिहीबारदेखि स्थानीय तहको भागबण्डा मिलाउन छलफलमा जुटेका छन्।
बिहीबार रातिसम्म भएको छलफलबाट निष्कर्ष ननिस्किएपछि शुक्रबार फेरि दलहरूबीच छलफल भइरहेको छ।
कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन छ। जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दल छन्। पालिकाको प्रमुख/उपप्रमुख लिने भन्ने विषयमा भने जसपा र राजमो बाहेकका दलबीच छलफल भइरहेको छ।
स्रोतका अनुसार अन्य जिल्लाका पालिकाहरूमा भागबण्डा टुंगिए पनि दैलेखका पालिकाको बारेमा कुरा मिल्न सकेको छैन। दैलेखमा ११ वटा स्थानीय तह छन्।
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भने कुनै पनि विषयमा सहमति हुन नसकेको बताएकी छन्।
‘अहिले यही जिल्ला र पालिकाको कुरा मिलेन भन्ने कुरा छैन, सबै विषय बाँकी नै छन्,’ अध्यक्ष केसीले सेतोपाटीसँग भनिन्।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका प्रवक्ता दमन शाहीले आज शुक्रबार राति १२ बजेसम्म पालिका भागबण्डाको कुरा टुंग्याइने बताए।
७९ वटा पालिकामध्ये कुन दलले कति र कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा शुक्रबार रातिसम्म टुंगो लगाइने उनले जानकारी दिए।
‘पर्सिबाट मनोनयन छ, आज त हामीले पालिकाको भागबण्डाबारे टुंग्याउनैपर्यो नि,’ प्रवक्ता शाहीले भने, ‘यो विषय आजै टुंगिने सम्भावना अत्यधिक छ।’
कर्णाली प्रदेशमा सत्तारूढ दलहरू भागबण्डामै अल्झिरहेका बेला नेकपा एमालेले भने अधिकांश पालिका र वडामा आफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेको छ।
कतिपय ठाउँमा एमालेले सर्वसम्मत् उम्मेदवार टुंग्याएको छ भने कतिपय ठाउँमा निर्वाचनबाट टुंग्याइएको छ।
सर्वसम्मत हुन नसकेका ठाउँमा आकांक्षीहरूका नाम पठाएर प्रदेश कमिटीलाई निर्णय गर्ने जिम्मेवारी एमालेमा दिइएको छ।