वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा फेरि उम्मेदवारी दिने उद्धेश्यले तुलसीपुरमा २५ जना जनप्रतिनिधिले शुक्रबार पदबाट राजीनामा दिएका छन्।
तुलसीपुरका सूचना अधिकारी बाबुराम न्यौपानेले दिउँसो सवा ३ बजेसम्म ८ जना वडाध्यक्ष र १८ जना वडा सदस्यले पदबाट राजीनामा दिएको जानकारी दिए।
नेपाली कांग्रेसबाट निर्वाचित पाँच जना र नेकपा एमालेबाट निर्वाचित ३ जना वडाध्यक्षले राजीनामा दिएका हुन्।
राजीनामा दिने वडाध्यक्षहरूमा वडा नं. २ का वडाध्यक्ष राजु आचार्य, वडा नं. ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नं. १० का अध्यक्ष कुमार लामिछाने, वडा नं १७ का अध्यक्ष थलराज पुरी रहेका छन्।
उनीहरू सबै नेपाली कांग्रेसको तर्फबाट २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएका थिए।
त्यस्तै, नेकपा एमालेबाट निर्वाचित वडा नं. १५ का अध्यक्ष लक्ष्मण चौधरी, वडा नं. १८ का अध्यक्ष माधव वली र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडा नं. १६ का अध्यक्ष भूपबहादुर केसीले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिएका छन्।
तुलसीपुरमा १९ वडा छन्।
तुलसीपुरमा वडा सदस्यहरूमध्ये वडा नं. १९ का देउकली नेपाली र केशर बहादुर पुन, वडा नं. ७ का शारदा सुनार, वडा नं. १६ का दण्डबहादुर खत्री, वडा नं. २ का कविराम चौधरी, राजकुमार केसी, कमला थापा, वडा नं. ६ बाट यमुना परियार, वडा नंं. ५ का अजय बुढाथोकी, सावित्री गुरूङ, मधुमति सुनार,सुरेश कुमार श्रेष्ठ, वडा नं. ११ का निर्मा चौधरी, वडा नं. १८ का शितलप्रसाद बुढामगर, वडा १८ का सदस्य जिगन्या चौधरी, वडा नं. ७ का रामबहादुर जिसी, वडा नं. ६ का दुजमान भण्डारी र वडा नं. १६ का पार्वता कामीले पदबाट राजीनामा दिएका हुन्।
तुलसीपुरमा राजीनामा दिनेको संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ।
फेरि उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले वैशाख ११ गतेसम्म राजीनामा दिन पाउने छन्। निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।
नेपाली कांग्रेसका जिल्ला सहसचिव समेत रहेका वडा नं. २ का वडाध्यक्ष राजु आचार्यले बाँकी रहेका अधुरा र अपूरा कामलाई पूर्णता दिनको लागि फेरि आफू वडाध्यक्ष हुन चाहेको बताए ।
‘कोभिड–१९ को महामारी र लकडाउनका कारण कतिपय भौतिक निर्माणका काम अधुरै र अपूरै छन्,’ उनले भने, ‘एक पटक फेरि म अध्यक्ष भएर ती सबै काम पूरा गर्न चाहन्छु।’
त्यस्तै, नेकपा एमाले तुलसीपुरका अध्यक्ष तथा वडा नं. १८ का वडाध्यक्ष माधव वलीले फेरि आफूलाई पार्टीले उम्मेदवार बनाएको हुँदा एक कार्यकाल दोहोरिन चाहेको तर्क गरे।
आफूले गर्न चाहे पनि अधुरै रहेका सडक, खानेपानीसम्बन्धी कामहरू अधुरै रहेको हुँदा फेरि निर्वाचित भएर ती काम पूरा गर्न चाहेको उनले बताए।
लमहीका ९ मध्ये ८ वडाध्यक्षले दिए राजीनामा
लमही नगरपालिकामा भने फेरि उम्मेदवार बन्ने उद्धेश्यका ९ मध्ये ८ वडाध्यक्षहरूले शुक्रबार नै पदबाट राजीनामा दिएका छन्।
नेकपा एमालेबाट निर्वाचित वडा नं. १ का वडाध्यक्ष नुमराज सुवेदी, नेकपा माओवादी केन्द्रबाट वडा नं. ३ मा निर्वाचित वडाध्यक्ष बाबुराम चौधरी र नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. २ का वडाध्यक्ष नेपबहादुर चौधरी, ४ का वडाध्यक्ष सुवास न्यौपाने, ६ का गणेशमान चौधरी, वडा नं. ७ का मोहन गिरी, ८ का मेघनारायण चौधरी र ९ का भेषबहादुर केसी (रमेश) ले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।
यी वडाका अधिकांश वडाध्यक्ष समेतले राजीनामा दिएका छन्।
नेकपा एमालेबाट निर्वाचित वडा नं. ५ का वडाध्यक्ष बिमबहादुर केसीले मात्रै पदबाट राजीनामा दिएका छैनन्।
आइतबारसम्म राजीनामा दिन पाउने सुविधा भएको हुँदा उनले के गर्छन्? त्यो भने प्रतीक्षाको विषय बनेको छ।
एमालेबाट निर्वाचित लमहीका मेयर कुलबहादुर केसी र कांग्रेसबाट निर्वाचित उपमेयर देबका बेलबासे पनि मेयरका आकांक्षी रहेको हुँदा उनीहरूको पनि राजीनामा आउने जानकारहरू बताउँछन्।
घोराहीमा क–कसले दिँदैछन् राजीनामा?
१९ वडाहरू रहेको घोराही उपमहानगरपालिकामा पनि अधिकांश वडाध्यक्षहरूले राजीनामा दिने तयारी गरेका छन्।
शुक्रबार कसैले राजीनामा नदिएको भए पनि आइतबार मनोनयन दर्ता गर्नुभन्दा पहिले राजीनामा बुझाउने तयारी गरेको स्रोतले बताएको छ।
वडा नं. १ का वडाध्यक्ष, ३ का वडाध्यक्ष, ४, ५, ६, ७, ९, ११, १५, १८ र १९ नम्बर वडाका वडाध्यक्षहरूले राजीनामा दिने तयारी गरिरहेका छन्।
घोराहीका मेयर नरूलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेलाई फेरि एमालेले मेयरको रूपमा नाम सिफारिस गरेको हुँदा उनीहरूको पनि राजीनामा आउने जानकारहरू बताउँछन्।