नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले स्थानीय तह निर्वाचन– २०७९ का लागि आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। महानगर कमिटीले नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यतामा प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो।
एक सय आठ बुँदाको सार्वजनिक प्रतिबद्धता–पत्रमा नेकपा (एमाले) नेतृत्वका जनप्रतिनिधिहरूको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरूको तर्जुमा, सडक तथा ढलहरूको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको भूकम्पबाट क्षति भएका सम्पदाहरूको जिर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरूको जगेर्नाजस्ता कार्य अघि बढेको उल्लेख छ।
'सार्वजनिक स्थल संरक्षण, वडा कार्यालय भवन निर्माण, विद्युतीय सुशासन, जनस्वास्थ्य सेवा प्रवर्द्धन, स्थानीय भाषामा पठनपाठन, आधुनिक शौचालय निर्माण, आकाशे पानी पुनर्भरण, सामुदायिक विद्यालय पूर्वाधार तथा शिक्षण सुधार, फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको कार्यान्वयन प्रक्रिया आरम्भ, युवा उद्यमशीलता प्रवर्द्धन, तथ्यमा आधारित नीति निर्माण जस्ता महत्वपूर्ण तथा दूरगामी कार्यक्रम तथा योजनाहरू कार्यान्वयन भएका छन्,' प्रतिबद्धता–पत्रमा भनिएको छ, 'विशेषतः विश्वव्यापी कोभिड–१९ को महामारीबाट ग्रसित महानगरवासीको जीवनरक्षाका लागि काठमाडौं महानगरपालिकाको भूमिका अग्रणी रह्यो।'
२०७४ वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो निर्वाचनमा काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) ले का उम्मेदवारहरूमध्ये प्रमुखसहित १८ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यसहित ७७ जना वडा सदस्य पदमा विजय हासिल गरेको थियो।
प्रतिबद्धता–पत्रमा काठमाडौं महानगरलाई संघीय नेपालको साँस्कृतिक, प्रशासनिक एवं आर्थिक केन्द्र सहितको राजधानीको रूपमा विकास गरिने उल्लेख छ।
प्रतिबद्धता–पत्रमा सहरी आवागमन तथा यातायात पूर्वाधार विकासका सन्दर्भमा संघ र प्रदेशसँगको सहकार्यमा संभाव्य स्थलहरूमा उपयुक्त विद्युतीय बस सेवा बिआरटी, मोनो रेल र मेट्रो रेलको रणनीति तर्जुमा गरी विकास गरिने उल्लेख छ।
उपयुक्त स्थानहरूमा साइकल लेन तथा साइकल पार्किङ निर्माण गरिने पनि प्रतिबद्धता–पत्रमा उल्लेख छ।
'काठमाडौंका महत्वपूर्ण पर्यटकीय तथा व्यावसायिक स्थानहरूमा स्थानीयवासीको गाडी पार्किङको वैकल्पिक व्यवस्थासहित पैदलयात्रुमैत्री बनाइनेछ,' प्रतिबद्धता–पत्रमा भनिएको छ, 'गाडी पार्किङको अत्यधिक माग भएका स्थानहरूमा भर्टिकल मेकानिकल पार्किङ व्यवस्था गरिनेछ।'
प्रतिबद्धता–पत्रमै रानीपोखरीदेखि दशरथ रंगशालासम्मको गुरुयोजना कार्यान्वयन गरिने, कमलपोखरी पुनर्निर्माणको दोश्रो चरण सम्पन्न गर्ने, वसन्तपुर कोतक्षेत्रमा खुला चोकसहितको जीवन्त संग्रहालय निर्माण गर्ने उल्लेख छ।
'महानगरपालिकाको व्यवस्थापनमा रहेका सडकहरू जथाभावी खन्न रोक लगाइनेछ,' प्रतिबद्धता–पत्रमा भनिएको छ, 'काठमाडौं महानगरपालिकाको केन्द्रीय प्रशासनिक भवन, टेकुमा चार्जिङ स्टेसन सुविधासहितको बहुतले पार्किङ भवनतथा धर्मपथस्थित 'येँ देय्' साँस्कृतिक भवनहरूको निर्माण आगामी दुई वर्षभित्रमा सम्पन्न गरिनेछ।'
सडक र चोकहरूमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गर्ने, स्मार्ट ट्राफिक सिग्नलको व्यवस्था गर्ने, आगामी २५ वर्षको जनसंख्या वृद्धिलाई दृष्टिगत गरी सिस्नेरी खोला, ठोस्ने खोला लगायतका श्रोतमार्फत नयाँ खानेपानी आयोजनाहरूको कार्यान्वयनमा सहकार्य गर्ने, नगरका नदीहरूलाई पुनर्जीवन दिन, दीर्घकालीन सरसफाइ तथा स्वच्छता कायम गर्न, सार्वजनिक जग्गाको संरक्षण गरी नदी किनार हरियालीयुक्त बनाउन अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गर्ने जस्ता कुरा पनि प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ।
'पुनर्निर्माण हुन बाँकी रहेका सम्पूर्ण द्यःछेँं, आगंछेँ, त्वाःछेँ, क्वापाःछें, मन्दिर, बहाः बही, पाटी, सत्तल, ल्वहंहिटी आदि सम्पदाहरूको निर्माण कार्य सम्पन्न गरिनेछ। भद्रकाली, महांकाल, वडा २५ को नउदेगः, संकटा मन्दिर लगायतका सम्पदाहरूको पुनर्निर्माण गरिनेछ,' प्रतिबद्धता–पत्रमा भनिएको छ, 'बौद्ध मूर्त अमूर्त सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गर्न बहाः बही संरक्षण तथा प्रवर्द्धनन विकास समिति गठन गरिनेछ। विश्व सम्पदामा सूचीकृत वसन्तपुर दरवार क्षेत्र, स्वयम्भू, पशुपतिनाथ र बौद्ध परिसरको संरक्षण तथा विकासका लागि गुरुयोजना कार्यान्वयन गर्न सहकार्य गरिनेछ।'
त्यसैगरी इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ जात्रा, पचली भैरव जात्रा, पाँहाचह्रे पर्व लगायतका जात्रा/पर्वहरूलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरूको संरक्षण तथा पुनःनिर्माणका लागि अनुदान दिइने जस्ता कुरा पनि उल्लेख गरिएको छ।
मौलिक चित्रकला, मूर्तिकला, बाजागाजाको औपचारिक शिक्षा प्रदान गर्न सामुदायिक शैक्षिक संस्थासँगको सहकार्यमा 'यें देय्ललितकला क्याम्पस' को स्थापना गर्ने, काठमाडौंका सम्पदाहरूको अवलोकन गराई पर्यटन अभिवृद्धि गर्न 'हप अन हप अफ' विद्युतीय बस सञ्चालन गरिने पनि उल्लेख गरिएको छ।
'संस्थागत तथा सामुदायिक विद्यालयहरूमा स्थानीय विषयको पठनपाठन नेपालभाषामा गर्ने कार्यलाई व्यापक र प्रभावकारी बनाइनेछ,' प्रतिबद्धता–पत्रमा भनिएको छ, 'एक नर्स एक विद्यालय कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। सबै सामुदायिक विद्यालयहरूमा बालिकामैत्री शौचालयको व्यवस्था गरिनेछ। नमूनाका रूपमा दुईवटा क्याम्पसहरूमा महिलामैत्री आधुनिक शौचालय निर्माणमा साझेदारी गरिनेछ।'