धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले फेरि नृप बहादुर वडलाई सिफारिस गरेको छ।
शुक्रबार बसेको केन्द्रको बैठकले धनगढीको मेयरमा वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको हो।
२०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाललाई हराउँदै वड धनगढीको मेयर बनेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड फेरि एक कार्यकाल धनगढीको मेयर हुन चाहन्छन्। आफूले सुरूआत गरेका कामहरू सम्पन्न गर्न थप समय लाग्ने भएकाले दोहोरिन चाहेको उनी बताउँछन्।
अछाममा जन्मेका नृपबहादुर वडको परिवार २०३६ मा धनगढी सरेको थियो। उनले त्रिनगर माध्यमिक विद्यालयबाट पढाइ सुरू गरेका थिए।
४३ सालतिर उनले नेपाल विधार्थी संघमा राजनीति सुरू गरेको बताए। प्रविणता तह पास गरेपछि नेपाली कांग्रेसमा लागेका उनी २०४९ सालमा धनगढी–५ को वडा सभापति भएका थिए। त्यसपछि नगर कार्य समिति सचिव र २ कार्यकाल नगर सभापति बने।
‘म राजनीतिमा लाग्दा समाजसेवा र संगठन निर्माण नै मेरो लक्ष्य थियो, त्यही मेहनतले ७० प्रतिशत कांग्रेसको बहुमत भएको क्षेत्र धनगढी बन्यो, १८ वर्ष यता लगातार कांग्रेसले चुनाव जितेको पनि छ,’ उनले भने।
१९ वर्षको शून्य अवस्थापछि चुनाव जितेर आए पनि सोचेका केही काम अधुरै रहेको उनी स्वीकार्छन्।
कार्यभार सम्हालेको सुरूको तीन वर्ष कर्मचारी, साधन र अनुभव लिनमै बितेको उनले बताए। बाँकी २ वर्ष काम गर्न चाहेर पनि कोभिड-१९ को महामारीले बाधा पुर्याएको उनी बताउँछन्।
मेयरमा दोस्रो कार्यकाल दिन पार्टीले केन्द्रीय कार्यसमितिमा सिफारिस गरिसकेको उनले बताए।
‘मैले पार्टीको हाई कमाण्डमा पनि म दोहोरिन चाहन्छु भनेर अनुरोध गरेको छु’, उनले भने,‘ शुक्रबार केन्द्रमा बसेको बैठकले पनि समिति बैठकमा सिफारिस गरिसकेको छ।’
सुन्दर सहर बनाउन आफूले काम गरिरहेको वडको भनाइ छ। अहिले सुरक्षा, स्वास्थ्य, खानेपानी र विद्युतको पहुँच नपुगेका धेरै परिवारलाई यी सुविधा दिन सकिएको उनी बताउँछन्।
‘स्वास्थ्य सेवामा राम्रो काम गरेकोले ३ पटक र कोभिड महामारीमा उत्कृष्ट व्यवस्थापन गरेकोले पुरस्कृत भयौं,’ उनले भने।
स्वास्थ्य संस्थाका १८ भवन उनको कार्यकालमा बनेका छन्। १९ मध्ये १७ वडामा नयाँ स्वास्थ्य केन्द्र खुले। २ वडामा उनी आउनु पहिले पनि यस्ता केन्द्र थिए।
यसबाहेक उपमहानगरपालिकामा आफ्नै अक्सिजन प्लान्ट निर्माण, पिसिआर परीक्षण मेसिन खरिद र २ वटा नगर अस्पताल बनाउने कामको थालनी गरिएको उनी बताउँछन्। धनगढीको वडा नम्बर १६ र ७ मा नगर अस्पताल बन्ने छन्।
उनको कार्यकालमा २ वटा शववाहन, २ एम्बुलेन्स, १ दमकल र फोहोर संकलन गर्ने १ ट्याक्टर नगरपालिकाले खरिद गरेको छ।
सात वटा प्राविधिक विद्यालय उपमहानगरपालिकाले आफैं खर्च व्यहोरेर चलाउँदै आएको छ। यस्ता प्राविधिक विषय पढाउने विद्यालय पहिले धनगढी उपमहानगरकै थिएनन्।
यी विद्यालयले शिक्षा लिएर स्वरोजगार हुन सकिने मेयर वड बताउँछन्। अन्यभन्दा आधा शुल्कमा उपमहानगरपालिकाले चलाएका यस्ता प्राविधिक विद्यालयमा पढ्न पाइन्छ।
उनले आफ्नो कार्यकालमा ४, ८ र १२ कोठे गरी ३७ विद्यालयमा भवनहरू बनेका बताए। ३० विद्यालयमा शौचालय, १५ मा पक्की घेरबार, सबै विद्यालयमा सेनेटरी प्याड, २२ विद्यालयमा भान्साघर बनाइएको मेयर वडले बताए।
हरेक विद्यालयलाई ल्यापटप र कम्प्युटर दिइएपछि तथ्यांक राख्न सहज भएको उनको भनाइ छ।
प्रत्येक वडामा १८ देखि २५ किलोमिटर कालोपत्रे, सबै वडामा २० देखि २५ किलोमटिर ग्राभेल, १९ वटै वडामा नयाँ ट्रयाक खोल्ने र एक दर्जन बढी पुल उपनगरपालिकाले बनाएको उनले बताए।
‘१७ नम्बर वडाका बत्ती नपुगेका बस्तीमा अहिले बिजुली पुगेको छ, १० वटा ट्रान्सफर्मर किनेर वितरण गरिएको छ’, उनले भने ।
अहिलेका जनप्रतिनिधि आउनुअघि २ वितरण केन्द्र रहेकोमा अहिले १६ वटा खानेपानी वितरण केन्द्र बनेका छन्। तीमध्ये केहीले मात्र पानी वितरण गरिरहेका छन् भने बाँकीमा काम भइरहेको छ।
उपमहानगरपालिकाले पछिल्लो पाँच वर्षमा ९ वटा पार्क निर्माण गरेको छ। ९ वटा फुटबल मैदान, १० सामुदायिक भवन, एक सिटी हल, एक कोल्ड स्टोर, २ स्थानमा ज्येष्ठ नागरिक भवन निर्माण गरेको छ।
‘वडा कार्यालय भाडामा लिनुपरेको थियो, अहिले १७ नयाा भवन बनेर यी कार्यालय सञ्चालनमा छन्, बाँकी २ बनेकै संरचनामा छन्,’ उनले भने।
उपमहानगरका ३ स्थानमा खुला फिटनेस सेन्टर बनेका छन्।
सबै वडामा भएका काम जनताले थाहा पाउन आइएमएस सिस्टम सञ्चालन, हरेक घरमा २ बिरूवा हुनैपर्ने नीतिगत व्यवस्था, आइटी सेन्टर सञ्चालन र १९ वडाका कार्यालयमा सिसिटिभी जडान पनि उपमहानगरपालिकाको महत्वपूर्ण काम भएको वड दाबी गर्छन्।
‘फाप्लालाई अन्तर्राष्टिय मैदान बनाउने कामको थालनी, ३ नम्बर वडामा ७ बिघामा बसपार्क निर्माण, ल्याण्डफिल साइट निर्माण र ४ नम्बर वडामा डेढ अर्ब लागतको ५ तले कमर्सियल भवन बनाउने काम सुरू भएको मात्र छ, यसलाई पूर्णता दिन म चाहन्छु,’ उनले भने।
बेहडाबाबा धाम र शिवपुरीमा धार्मिक पर्यटकीय क्षेत्र बनाउन काम भइरहेको उनले बताए। थारू होमस्टे र पार्क निर्माणले पर्यटकलाई सुबिधा बढाएको उनले बताए।
धनगढीको मुख्य समस्या डुबान र कटान पनि हुन्।
नदीनाला अतिक्रमण हटाउने र डुबानबाट मुक्त बनाउने मेयर वडको कार्यकालको पहिलो निर्णय कार्यान्वयन भएका छैनन्।
वडा नम्बर ३ को डुबान हटाउन नेतुवा ताल बनाउने र ड्याम बनाउने काम पूरा नभएर समस्या यथावत् रहेको उनले बताए।
उक्त वडाको पानी तालमा जम्मा गर्ने र त्यसको निकास मोहना नदीमा हुने उनी बताउँछन्।
भन्सार रोडमा विद्युत कार्यालय अगाडि हुने डुबान अन्त्य गर्न पाइपबाट पानी निकास हुने गरी काम भइरहेको उनले बताए।
बजारमा हुने डुबान अन्त्य गर्न आरयुडिपी (सघन सहरी विकास परियोजना) बाट बन्ने ढल र नाली बनिरहेका उनले बताए।
‘आरयुडिपी परियोजनाले सडकभन्दा पहिले ढल बनाउने हो, ४३ किलोमिटर उक्त नाली बने सडकको डुबान हुँदैन’, उनले भने।
कैलाली पुलदेखि शिवपुरी धामसम्मको अतिक्रमण हटाउन काम सुरू भएको उनको दाबी छ।
‘आरयुडिपीको काम पूरा गर्न, बसपार्क नयाँ बनाउन, अटोभिलेज बनाउन म फेरि मेयर बन्न चाहन्छु’, उनले भने।
भ्रष्टाचार हुन नदिन र सुशासन कायम गर्न पनि आफ्नो कार्यकालमा सफल भएको उनको दाबी छ।
जनताबाट गुनासो आएपछि ३ जना कर्मचारीलाई कारबाही समेत गरेको उनले बताए।
आफ्नो कार्यकाल अघि सात करोड आन्तरिक आम्दानी रहेकोमा अहिले बढेर २५ करोड पुगेको उनले बताए।
‘धनगढी मोडल विज्ञमात्रै भएर हुँदैन, पैसा चाहिन्छ, दिल्लीमा केजरीवाल जस्तै बनाउँछु भन्नेले उनी मेयर नभई मुख्यमन्त्री भएको, उनको पक्षमा ९७ प्रतिशत जनताले भोट दिएको कुरा बुझ्नुपर्छ,’ उनले भने।
मेयर वडले नागरिकलाई मोडेल कुरामा नभई सुविधा दिन आवश्यक रहेको बताए।
‘मैले जे सुविधा दिन सकें ती नै मोडल काम हुन्, थप सुविधा जे दिन सक्ने छु, ती मोडल काम हुने छन्’, उनले भने।