निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोग इलेक्ट्रिक भोटिङमा जान तयार भएको बताएका छन्।
उम्मेदवारी तय भइसकेपछि मात्रै मतपत्र छाप्ने कुरा असम्भव भएको भन्दै त्यसको विकल्पको रूपमा इलेक्ट्रिक भोटिङमात्रै भएको उनले बताए।
शनिबार आयोगमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले उम्मेदवारी दिइसकेपछिमात्रै मतपत्र छाप्ने कुरा असम्भव भएको बताए।
इलेक्ट्रिक भोटिङमा नगएमा यही प्रक्रियामै पछिका चुनावहरूमा भइरहने उनले बताए।
‘सबै उम्मेदवारहरू फाइनल भइसकेपछि मात्रै मतपत्र छाप्ने कुरा असम्भव छ,’ उनले भने,‘त्यसकारण हामी राजनीतिक दलका सुझावहरूलाई गम्भीरतापूर्वक लिन्छौं। हामी आह्वान गर्न चाहन्छौं सबैको उपयुक्त समाधान इभोटिङमा जाँदा हुन्छ। त्यसकारण कुनै प्रश्न नआउने गरी इलेक्ट्रिक भोटिङमा जाने गरी माहोल तयार गरौं। त्यसको लागि आयोग तयार छ। अन्यथा थुप्रै निर्वाचन यही प्रक्रियाभित्र मतपत्र छापेर जाँदा त्यो रूपमा जान सकिने अवस्था छैन।’
यस चुनावको लागि मतपत्रको ८७ वटा डिजाइनहरू बनाएको उनले बताए। त्यसलाई पठाउने प्रक्रियामा रहेको उनले बताए।
‘राम्रो के हो भने उम्मेदवारी भइसकेपछि जति उम्मेदवार छन् त्यतिको चिन्ह छापेर अरू नहुनु राम्रो हो। प्रतिनिधि सभा र प्रदेश सभामा हामीले त्यस्तै गर्दै आएका पनि छौं,’ उनले भने, ‘तर यो संविधान र निर्वाचन ऐन जारी भइसकेपछि हामीले सम्पन्न गरेको २०७४ सालको निर्वाचनमा प्राविधिक समिति गठन गरेर पटकपटक विज्ञहरूसँग छलफल गरेर अन्तर्राष्ट्रिय अनुभव समेतको आधारमा सबै राजनीतिक दलहरूको सहमतिमा मतपत्रमा कसरी चिन्हहरू राख्ने भन्ने त्यतिबेलै सम्बोधन भइसकेको विषय हो।’
अघिल्लो निर्वाचनमा १० किसिमका मतपत्रहरू डिजाइन भएको र यसपालि ८७ वटा डिजाइन भएको उनले बताए।
‘७७ जिल्लाका ७७ किसिमका मतपत्र हुन्छन्। काठमाडौं उपत्यका भित्रको भक्तपुर जिल्लाका चार वटा नगरपालिका र ६ वटा महानगरपालिकाको १७ गते उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छाप्ने भनेर हामीले निर्णय गरेका थियौं,’ उनले भने।
यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि प्रचारप्रसारको लागि १५ दिनमात्रै दिन सकिने उनले बताए।
त्यसलाई पनि घटाउनुपर्ने भन्दै माग गरेको हुँदा प्रचारप्रसारलाई ११ दिन मात्रै दिएको उनले बताए।
‘११ दिनभित्र ६७४३ किसिमका मतपत्र। हरेक वडाको मतपत्र फरक हुन्छ। त्यसकारण कुनै पनि उम्मेदवार नभएको चिन्ह नराखी छाप्ने हो भने ६७४३ वटा वडाका त्यति नै प्रकारका मतपत्र छाप्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले यातायातको असुविधा भएका ठाउँमा १९ गतेभित्र पठाइसक्नुपर्ने हुन्छ।’
त्यसकारण सबै उम्मेदवार फाइनल भएपछि मात्रै मतपत्र छाप्ने कुरा असम्भव भएको उनले बताए।