पत्रकार गिरीश गिरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगन्ज महानगरपालिकाको मेयरमा उठाउने भएको छ।
राप्रपाको शनिबार बसेको बैठकले गिरीलाई वीरगञ्ज महानगरपालिमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
गिरी लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। हालै उनले सताब्दीपुरूष सत्यमोहनको पुस्तक पनि लेखेका थिए।
आफ्नो जन्मथलोको विकासका लागि आँट गरेको पत्रकार गिरीले सेतोपाटीसँग भने।
‘आफ्नो जन्मथलो हो, आफ्नो ठाउँ हो। केही गरौं भनेर आँट गरेको हुँ। आशा छ मलाई जनताले विश्वास गर्नुहुनेछ’, उनले भने।
यसअघि गिरीका पिता गोपाल गिरीलाई २०६० सालतिर तत्कालीन राजा ज्ञानेन्द्र शाह सत्तामा आएपछि वीरगञ्ज नगरपालिकाको प्रमुखमा मनोनीत गरेका थिए।
उनले मेयर पदमा मनोनित भएर आए लगतै वीरगन्ज नगरलाई नेपालकै उत्कृष्ट शहर बनाउने अभियान शुरु गरेका थिए। उनकै पालामा पहिलो पटक वीरगन्जमा अतिक्रमणकारीलाई हटाउने अभियान सञ्चालन भएको थियो।
गिरी प्रमुखमा मनोनीत भएको करीब ६ महिनापछि तत्कालीन माओवादीले गिरीलाई बोलाएर वीरगञ्जको वाइपास सडकखण्डमा गोली हानी हत्या गरेका थिए।