नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेल पूर्व शिक्षक हुन्। पोखरा महानगरको वडा नं. १९ का पौडेलले गाउँकै भारती गगन माविमा पढाए। अरू स्कुलमा समेत गरेर उनले २८ वर्ष अध्यापन गराए। ६० वर्षे उमेर हदले निस्किँदा पेन्सन पाक्न दुई महिना मात्र बाँकी थियो।
'२८ वर्ष शिक्षक भएर अवकाश लिँदा पेन्सन पाक्न दुई महिना बाँकी थियो,' उनले भने, 'प्रयास गरेको भए पाउँथे होला। कानुनले नमिल्ने भएर प्रयास नै गरिनँ।'
पञ्चायतकालमा बहुदलका पक्षमा लागेकै कारण परीक्षामा नाम निस्किँदासमेत स्थायी हुन नपाएको र बहुदल आएपछि राजनीतिक पूर्वाग्रहले लिखितमा नाम निस्किँदासमेत स्थायी हुन नदिएको उनको भनाइ छ। जसका कारण पेन्सनबाट बञ्चित हुनुपरेको उनले बताए।
नेकपा एमालेको राजनीतिमा भित्रिँदा पनि पौडेलले विद्यार्थी र शिक्षक आन्दोलनमा धेरै जोडिएका छन्। पञ्चयतविरूद्ध २०३६ सालको विद्यार्थी आन्दोलनमा पृथ्वीनारायण क्याम्पसको नेतृत्व लिएका पौडेल २०४४ सालको जिल्ला विकास समिति कास्कीका सभापति उम्मेदवार थिए।
तत्कालीन नेकपा मालेले जिल्ला विकास सभापतिको टिकट दिए पनि उनले मनोनयन दर्ता गर्न पाएनन्।
'मनोनयन दर्ता गर्न जाँदा मलाई पक्रेर प्रहरीले राख्यो,' उनले सेतोपाटीसँग भने, 'पञ्चायतकालमा मात्र दस पटक प्रहरीले मलाई हिरासतमा राखे।'
उम्मेदवार बन्नुअघि मात्र उनले पार्टी सदस्यता लिएका थिए।
त्यसपछि शिक्षण पेसालाई निरन्तरता दिएका पौडेल एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको दुई पटक जिल्ला अध्यक्ष बनेका थिए। यस्तै नेपाल शिक्षक युनियन कास्कीको एक कार्यकाल अध्यक्ष र संगठनको केन्द्रीय उपाध्यक्ष बनेका थिए।
तत्कालीन माले, हालको एमालेको गाउँ कमिटी सदस्यबाट पार्टी गतिविधिमा सक्रिय हुन थालेका पौडेल क्षेत्रीय कमिटी, १८ वर्षसम्म जिल्ला कमिटी सदस्य, ८ वर्ष जिल्ला सचिवालय सदस्य, एमाले र माओवादी मिलेर बनेको नेकपाको पोखरा महानगर कमिटी संयोजक र अहिले प्रदेश कमिटीका सचिवालय सदस्य छन्।
उनले राजनीतिक यात्रामा आफू दुई पटक 'सहिद' भएको दाबी गरे।
'मलाई पञ्चायतकालमा ४३ सालको निर्वाचनमा पञ्चले हान्यो,' उनले भने, '६१ सालमा आन्दोलनका बेला महेन्द्रपुलमा माओवादीले मारेर फालेको भनेका थिए।'
पोखरा महानगरको मेयर टिकट पाएपछि उनले पोखरा निर्माणको संक्षिप्त योजनासमेत सेतोपाटीलाई सुनाए।
महानगर बनाउँदा तत्कालीन पोखरा सहर, लेखनाथ र आसपासमा गाविसहरू जोडिएको भन्दै उनले यी तीन ठाउँको आवश्यकता तीन थरी भएको बताए।
'पोखरामा तीनवटा भूगोल छ, जहाँ तीन प्रकारकै आवश्यकता छ,' उनले भने, 'यसलाई छुट्याएर योजना बनाउँछु।'
पोखरा सहरलाई आधुनिक बनाएर लैजानुपर्ने र लेखनाथ तथा ग्रामिण क्षेत्रमा पूर्वाधार विकासको आवश्यकता रहेको उनले बताए। महानगरको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने उनको योजना छ।
पोखरा महानगरको मेयर निर्वाचित भए एक रूपैयाँ पनि कमाउने बाटोमा नलाग्ने उनले प्रतिवद्धता जनाएका छन्। मेयर टिकट पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धन कमाउने र गाडी चढ्ने रहर नभएको दाबी गरे।
'म जुन दिन विजय हासिल गरेर कुर्सीमा बस्छु, त्यो दिनमा मसँग जति सम्पत्ति छ, छाडेर जाँदा पनि त्यहाँ भन्दा एक रूपैयाँ पनि बढाउने छैन,' उनले भने, 'मेयर भएर एक रूपैयाँ आम्दानी बढाएछु भने जुनसुकै कारबाही भोग्न तयार छु।'
पैतृक जग्गाबाट खान पुगेको भन्दै उनले श्रीमतीको पेन्सन र कान्छी छोरीले अस्ट्रेलियाबाट पठाइदिने पकेट खर्चले गुजारा चलाएको उनको जिकिर छ।
मेयर निर्वाचित भए पोखरा महानगरका सार्वजनिक जमिन र तालहरूमाथिको अतिक्रमण हटाएर संरक्षणमा लाग्ने उनले बताए।
'सबभन्दा पहिला सार्वजनिक सम्पत्ति संरक्षणका लागि नीतिगत रूपमा अघि बढ्छु,' उनले भने, 'एक बित्ता जमिन पनि तलमाथि हुन दिन्नँ। पोखरा निर्माणमा मसँग भएको क्षमता जनताको पक्षमा प्रयोग गर्छु।'
२०७४ सालको निर्वाचनमा पनि पोखरा महानगरको मेयर, उपमेयरसहित दुई तिहाई बहुमत एमाले उम्मेदवारले जितेका थिए। त्यति बेला कांग्रेस र माओवादी गठबन्धन हुँदासमेत झन्डै १५ हजार मतान्तरले एमाले मेयर निर्वाचित भएका थिए।
एमालेबाट निर्वाचित मेयर, उपमेयरसँग दुई तिहाई बहुमत हुँदासमेत ताल संरक्षण गर्न नसकेको, उल्टै मापदण्ड घटाएको, जोखिम बढ्ने गरी अग्ला घरहरूलाई बैधानिकता दिएको, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नसकेको, भ्रष्टाचारलाई प्रोत्साहन दिएको जस्ता आरोप पोखरामा लाग्ने गरेको छ।
एमालेकै मेयर उम्मेदवार पौडेलले अहिलेका जनप्रतिनिधिले गरेका गलत कामका विषयमा अध्ययन गरेर मात्र भन्न सक्ने बताए।
'भर्खर पार्टीको केन्द्रीय कार्यालयबाट टिकट पाएको सूचना पाएको छु,' उनले भने, 'अहिले के कति काम भयो, अध्ययन गर्नुपर्छ। एक-दुई दिनमै कार्ययोजनासहित तपाईंहरूसँग बस्छु।'
भूगोल विषयमा स्नातक गरेका पौडेलले पोखराका विकास र संरक्षणका लागि आफ्नो ज्ञानको सदुपयोग गर्न चाहेको बताए।