वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले धनगढी मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता कमल रानाले जानकारी दिए।
मेयर उम्मेदवार चुनिएका चन्द धनगढी उपमहानगरपालिका–४ का बासिन्दा हुन्। उनी २०५० सालदेखि विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका थिए। स्कुले जीवनमा उनी पञ्चोदय माविको अनेरास्ववियु प्रारम्भिक कमिटीका सचिव थिए।
त्यसपछि उनी अनेरास्ववियु क्याम्पस कमिटीको सदस्य हुँदै अञ्चल कमिटीका अध्यक्ष बनेका थिए। २०५७ सालमा उनी अनेरास्ववियुको केन्द्रीय राष्ट्रिय परिषद सदस्य बने। त्यसपछि धनगढी नगर सदस्य हुँदै पार्टीमा उपसचिव भएका थिए।
एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा चार मतले पराजित भएका चन्द हाल पार्टीमा केन्द्रीय निर्वाचन विभागका सदस्य छन्। उनी एमाले जिल्ला उपाध्यक्ष पनि भएका थिए।
‘मूल्यांकन गरेर पार्टीले मलाई उम्मेदवार बनाएको छ। जनताले धनगढीमा कांग्रेसको काम देखेकै छन्, अब उनीहरूले मतको सही ठाउँमा सदुपयोग गर्ने बेला आएको छ,’ चन्दले सेतोपाटीसँग भने।
गठबन्धनमा पनि समस्या आएकाले आफू चुनाव जित्नेमा आशावादी भएको उनले बताए।
त्यस्तै, उपमेयर उम्मेदवार राना धनगढी उपमहानगरपालिका–८ की बासिन्दा हुन्। एमालेको जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीय राना नेपाल राना थारू समाजका केन्द्रीय कोषाध्यक्ष हुन्।
उनी २०६८ सालदेखि पार्टीको संगठित सदस्य बनेकी थिइन्। यसअघि उनले राना थारू समुदायलाई रानाथारू जातिमा सूचीकृत गर्नुपर्ने भन्दै आवाज उठाउँदै आएकी थिइन्।
चन्दसँगै मेयरमा कमल राना, दुर्गा जोशी, जीवन बम र गोमा अधिकारी पनि आकांक्षी थिए। त्यस्तै, रानासँगै उपमेयरमा दिप्ती शाही, जानकी चौधरी आकांक्षी थिए।
मेयर र उपमेयरका उम्मेदवारको टुंगोपछि आइतबारसम्म वडास्तरीय उम्मेदवारको पनि टुंगो लगाइने छ।