धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अध्यक्षबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता बलबहादुर ऐरले स्वतन्त्र रूपमा वडाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
उनले माओवादी पार्टी छाडेर स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेका हुन्। यहाँ स्वतन्त्र रूपमा मेयर उठेका गोपाल हमालको टिमबाट उनले वडाध्यक्षमा उम्मेदवारी दिन लागेका छन्।
उनले आज स्वतन्त्र रूपमा वडाध्यक्षम उम्मेदवारी दिने बताए। उनले शुक्रबार वडाध्यक्षबाट राजीनामा दिएका थिए। उनले माओवादीबाट धनगढीको उपमेयर उठ्ने भन्दै राजीनामा दिएका थिए। पार्टीले उपमेयरका लागि उनीसहित अन्य आकांक्षीको नाम पनि सिफारिस गरेको थियो।
सत्तागठबन्धनको भागबन्डामा धनगढी उपमहानगरमा उपमेयर माओवादीलाई परेको छ। माओवादीले कसलाई उम्मेदवार बनाउने टुंगो लगाएको छैन। पार्टीले उपमेयर वा वडाध्यक्षमा पनि उम्मेदवार बनाउन नचाहेपछि उनले स्वतन्त्र रूपमा वडाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
उनी शनिबार हमालको टिममा गएका थिए।
‘नेताहरुको चाकरी गर्न सकिएन। मेरो नैतिकताले त्यसो गर्न मिल्दैन पनि। चाकरी गर्नु नै परे जनताको गर्छु,’ उनले भने। उनीसहित वडाका माओवादीका २३ जना वडा कमिटी सदस्य र एक सय ७५ जना पार्टी सदस्यले माओवादी छाडेका छन्।
उनीमध्ये अन्य चार जना वडा सदस्यमा चुनाव लड्ने भएका हुन्।
ऐर ०६३ सालदेखि वाइसीएलमा वडा सहइन्चार्ज हुँदै वडाको पार्टी अध्यक्षसम्म भएका थिए। उनले पाँच बर्षसम्म जनतालाई दिएको सेवा र जनताकै चाहानाअनुरुप चुनाव लड्ने पनि बताए।
‘मैले पाँच वर्ष गरेको कामको आधारमा जनताले फेरि चुनाव लड्नुहोस् भनेपछि मैले चुनाव लड्ने भएको हुँ,’ उनले भने।