अन्यत्र धेरैतिर उम्मेद्वार टुंगो लागिसक्दा पनि नेकपा एमालेले विराटनगर महानगरमा उम्मेद्वार टुंगो लगाउन सकेको छैन।
अन्तिम समयमा केन्द्रीय नेताहरूले मेयरमा दाबेदारी पेश गरेपछि एमालेलाई विराटनगरको मेयर टुंग्याउन सकस भएको हो।
आइतबार बस्ने केन्द्रीय सचिवालय बैठकले महानगर उम्मेद्वार टुंगो लगाउनुअघि एमालेका पुराना नेता केन्द्रीय सदस्य गुरू बराल, केन्द्रीय सदस्य जीवन घिमिरेले मेयरमा दाबी गरेका छन्। यसअघि महानगर कमिटीबाट नाम सिफारिस गर्नेबेलामा घिमिरेले आफ्नो दाबी पेश गरे पनि बरालले भने पेश गरेका थिएनन्।
तर, केन्द्रले उम्मेद्वार छान्ने प्रक्रिया सुरू गरेपछि भने बरालले पनि दाबी थालेका थिए। गएको राष्ट्रिय सभा निर्वाचनमा गोला तान्दा कांग्रेसका गोपाल बस्नेतसँग हारेका नेता बरालको दाबी अघि आएपछि अध्यक्ष केपी ओली लगायतका नेताहरु छलफलमा जुटेको स्रोतको भनाइ छ। ‘दाबी धेरै जनाको छ,’ एमालेका एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘तर, गुरू बरालले दाबी गरेपछि नेताहरू थप अफ्ठयारोमा पर्नुभएको छ।’
पूर्व सांसद बराल अध्यक्ष ओलीका विश्वासपात्र हुन्। अध्यक्ष ओलीले पनि विराटनगरमा ‘सिनियर नेताहरू उम्मेदवार बन्नुपर्ने’ बताएको एमाले स्रोतको भनाइ छ। ‘गुरू बराल, लालबाबु पण्डित वा विनोद ढकाल मध्ये कोही एक जना अघि आइदिए हुन्थ्यो भन्ने अध्यक्षको कुरा छ,’ ती एमाले नेताले भने, ‘अहिले त्यही प्रयास भइरहेको बुझिन्छ।’
यद्यपि एमाले नेता विनोद ढकाल, प्रदेश अध्यक्ष देवराज कार्की, स्थायी कमिटी सदस्य हिक्मत कार्कीलगायत नेताहरू विराटनगरमा महानगर अध्यक्ष सागर थापालाई अघि सार्ने पक्षमा छन्। यस्तै दश बुँदे पक्षधर नेताहरू भने प्रदेशका पूर्वमन्त्री जीवन घिमिरेलाई अघि सार्नुपर्ने बताउँदै आएका छन्। तर, महानगरमा ओली समूहकै व्यक्तिले उम्मेद्वारी पाउने निश्चितप्रायः छ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले विराटनगरमा गठबन्धनका तर्फबाट प्रमुख पदको उम्मेद्वार कांग्रेसले पाउने सहमति भइसकेको छ भने उपप्रमुखमा जनता समाजवादीले पाउने निश्चित भएको छ। एमालेको मुख्य प्रतिष्पर्धा गठबन्धनसँगै हुनेछ। गठबन्धनले पनि उम्मेद्वार टुंगो लगाइसकेको छैन।
विराटनगरमा एमालेले केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, नगरअध्यक्ष सागर थापा र प्रदेश सदस्य महेश भट्टराईको नाम सिफारिस गरेको छ।
यस्तै उपमेयरमा लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरेको छ। मेयरमा प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरेले पनि आकांक्षा राखेपछि उनको नाम ‘नोट’ मा राखेर पठाइएको थियो। सिफारिस सूचीमा गुरू बरालको नाम नै थिएन। ‘एमालेमा अब सबै सम्भावना खुला छ,’ ती नेताले भने, ‘टिकट अब जसले पनि पाउने सम्भावना बढेको छ।’
विराटनगरमा यसअघि २०७४ मा कांग्रेसले एक्लै महानगर प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेको थियो।
कांग्रेसभित्र गठबन्धन विरोधी मानिने नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरमा चुनावी तालमेल नगर्न ठूलै दबाब थियो। तर, गठबन्धनका शीर्ष नेताबीच मुलुकभरका महानगर र उपमहानगर बाँडफाँट गर्ने सहमति गरेपछि कांग्रेसको तालमेल विरोधी पक्ष ‘ब्याक’ भएको थियो।
तालमेलले गठबन्धनकै दल जसपामा पनि असन्तोष ल्याएको छ। मेयरका दाबेदार रहेका नेता उमेश यादवले मेयर नपाउने भएपछि पार्टी त्यागेको घोषणा गरेका छन्। उनले आज स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका छन्।
गठबन्धनबाट कांग्रेसले पाउने निश्चित भएको विराटनगर महानगरमा कांग्रेसबाट प्रमुख पदमा धेरै जना नेताहरु दाबेदार छन्।
हालका प्रमुख भीम पराजुली, उप-प्रमुख ईन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला, नागेश कोइराला लगायतका नेताहरु टिकट लिने दौडमा छन्। यी मध्ये नागेश कोइराला र ईन्दिरा कार्की, शेखर कोइराला पक्षका हुन् भने अन्य दाबेदारहरु सबै संस्थापन पक्षका हुन्।
गठबन्धनबाट महानगर उपप्रमुखको उम्मेद्वारी पाउने निश्चित भएको जसपाबाट नेताहरू अमरेन्द्र यादव, भूराज राई, तेजलाल कर्ण, भरत दाहाललगायतका नेताहरु उपप्रमुख बन्ने दौडमा छन्। यीमध्ये अमरेन्द्र यादव नेता उपेन्द्र यादवका छोरा हुन्।