सत्तारूढ गठबन्धनबाट हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी नेता मीनाकुमारी लामा उम्मेदवार बनेकी छन्। भागबन्डामा हेटौंडाको मेयर आफ्नो भागमा परेपछि एकीकृत समाजवादीले अहिले उपमेयर रहेकी मीनाकुमारीलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको हो।
२०७४ सालमा हेटौंडामा कांग्रेस र माओवादी केन्द्रको तालमेल भएको थियो। मेयर कांग्रेसले लिएको थियो भने माओवादी केन्द्रले उपमेयरको लिएको थियो।
एमालेले गठबन्धनका दुबै उम्मेदवारलाई हरायो। कांग्रेस र माओवादीका संयुक्त उम्मेदवारलाई उपमेयरमा हराउन सफल भएकी मीनाकुमारी लामा यसपटक हेटौंडाको मेयर उम्मेदवार बन्दैछिन्।
संयोग यस्तो परेको छ भने अघिल्लो चुनावमा जुन पार्टीको गठबन्धनलाई उनले हराइन्। यसपटक तिनै पार्टीको भोटले जित्ने अपेक्षासहित उनी उम्मेदवार बनेकी छन्।
२०७४ मा हेटौंडाको उपमेयरमा कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवारले १७ हजार ११ मत ल्याउँदा लामाले २३ हजार ४ सय ३७ मत पाएकी थिइन्।
जितका लागि उनले आफ्नो पुरानो पार्टीमा रहेका मतदातालाई आफ्नो पक्षमा पार्नुछ भने गठबन्धनको भोटलाई पनि तान्नुपर्छ। एमाले विभाजन भएपछि हेटौंडामा त्यसको असर कति परेको छ त्यो त मतदानपछि मात्रै थाहा होला। तर एमालेका प्रभावशाली नेताहरू भने एकीकृत समाजवादीमा गएका छन्।
२०४८ देखि अहिलेसम्म ४ पटक निर्वाचित सांसद विरोध खतिवडा एकीकृत समाजावदीमा छन् भने एमाले विभाजन अघिकी जिल्ला पार्टी अध्यक्ष मनु सिग्देल पनि यही पार्टीमा छन्। मनु सिग्देलको कमिटीमा लामा सहसचिव थिइन्।
लामासँग उपमेयर भएर काम गरेको लिगेसी छ। एमालेको महत्वपूर्ण शक्ति अहिले पनि एमालेमै छ। त्यसमा पनि कमल थापा नेतृत्वको राप्रपा नेपाल यो निर्वाचनका लागि एमालेमै आवद्ध भएको छ। २०७४मा तत्कालीन राप्रपाका उपमेयर उम्मेदवारले हेटौंडामा ७ हजार ७ सय २ मत ल्याएका थिए। कमल थापाको गृहजिल्ला भएकाले अहिले पनि राप्रपाको त्यो भोटमध्ये ठूलो हिस्सा राप्रपा नेपालमै रहेको हुनसक्छ।
आफूले उपमेयर भएर काम गरेको अनुभव अनि गठबन्धनको शक्तिले चुनाव जित्न सक्ने लामाको दाबी छ।
‘मैले यो क्षेत्रमा लामो समयदेखि काम गरेको छु। २०४६ सालदेखि नै राजनीतिमा सक्रिय छु। हाम्रो पार्टीले हेटौंडाका १९ वडामै संगठन विस्तार गरेको छ,' उनले भनिन्,'हामी हेटौंडामा बलियो छौं। गठबन्धनमा रहेका दलको भोटले मेरो जितलाई सहज बनाउँछ।'
२०४६ सालमा अनेरास्ववियुमा आवद्ध भएकी लामा २०५२ मा जिल्ला कोषाध्यक्ष बनेकी थिइन्। उनले अखिल नेपाल महिला संघको जिल्ला सचिव भएरसमेत काम गरिसकेकी छन्।
समाजशास्त्रमा स्नातकोत्तर गरेकी लामा मध्यम परिवारकी हुन्। उनका दुई छोराछोरी छन्। घर परिवारको साथ र सहयोगले राजनीतिमा अघि बढ्न सजिलो भएको उनले बताइन्। छोराछोरी हुर्काउँदै राजनीति गर्न सहज नहुने उनको अनुभव छ।
नेपाली कांग्रेसले उपमेयरको उम्मेदवार टुंगो लगाएपछि संयुक्त चुनावी अभियान गर्ने उनले बताइन्। १९वडामा चुनावी तालमेलका लागि छलफल भइरहेको समेत उनले बताइन्।
‘२०७४मा दलहरू बीचको तालमेल चुनाव जित्नका लागिमात्रै थियो। अहिले हाम्रो उद्देश्य र ध्येय फरक छ,' उनले भनिन्,‘अहिलेको गठबन्धनले राष्ट्रिय राजनीतिलाई नै एउटा सन्देश दिन्छ।'
वैशाख ३० गते हुने चुनावमा मीनाकुमारी र एमालेका अनन्त पौडेलबीच प्रतिष्पर्धा हुने भएको छ।