नेकपा एमाले प्रदेश १ का दुई जना सांसदले स्थानीय चुनाव लड्न प्रदेश सभाबाट राजीनामा गरेका छन्।
झापाका एमाले सांसद गोपाल बुढाथोकी र इलामका सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
झापाका बुढाथोकी मेचीनगरको नगर प्रमुखमा उठ्ने निश्चित भएको छ। झापा १ को निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित बुढाथोकी अघिल्लो पटक पनि मेयरको दाबेदार थिए। उनले टिकट नपाएपछि उनलाई एमालेले प्रदेशमा पठाएको थियो। २०७४ मा मेचीनगरमा कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित भएका थिए ।
त्यसैगरी इलामका कागतेले पनि सूर्योदय नगरपालिकाको मेयरमा टिकट पाएपछि राजीनामा दिएका हुन्।
इलाम १ को निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित कागते एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रका एमाले नेता हुन्।
सूर्योदयमा यसअघि पनि एमालेले जितेको थियो। त्यहाँका मेयर रणबहादुर राई समाजवादीबाट गठबन्धनको उम्मेद्वार हुने सम्भावना छ।