जनआन्दोलन-२ का बेला दाङको तुलसीपुर र आसपासका क्षेत्रमा हुने कुनै पनि विरोध कार्यक्रममा सुशील गन्धर्व छुट्दैन थिए।
उनको सुरिलो स्वरले आन्दोलनकारीमा उर्जा भरिन्थ्यो। शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रममा पनि परिवर्तनको पक्षमा गीत गाउने सुशील एक्ला निर्विकल्प गायक थिए। स्टेजमा उनी उक्लिँदा दर्शक दीर्घाबाट हुटिङ हुन्थ्यो।
तिनै सुशीलले आइतबार तुलसीपुरको उपमेयरमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिन आउँदा पनि उनी सारंगी बोकेरै आएका थिए। आइतबार मध्यान्हतिर सुशील खादा लगाएर प्रफुल्ल मुद्रामा सारंगी बजाउँदै गीत गाउँदै तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालय आए। उच्च अदालत तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा नेपाली झन्डा बाकेका सारंगी बजाउँदै हिँडिरहेका गन्धर्व समुदाय अरू मानिस पनि प्रफुल्ल देखिन्थे।
तुलसीपुर उपमहागनरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिन आउँदा उनको पछाडि राष्ट्रिय झण्डा फहराउँदै ‘सुशील दाइ जिन्दावाद’ को नारा लागिरहेको थियो।
‘हाम्रो पहिचान भनेकै सारंगी हो,’ सुशीलले भने, ‘आफ्नो पहिचान जेले झल्काउँछ त्यो बोकेर जानु मैले उपयुक्त ठानें।’
नेकपा एमालेनिकट मानिने सुशील तीन वर्षदेखि आफू स्वतन्त्र भएको बताउँछन्। परिवर्तनकारी आन्दोलनमा आफूले पनि थुप्रै मेहनत गरेको भए पनि त्यसको अवमूल्यन भएकाले स्वतन्त्र उम्मेदवारी दिन आएको उनले प्रतिक्रिया दिए।
प्रजातन्त्र हुँदै लोकतन्त्र र गणतन्त्र आउँदासमेत गन्धर्व समुदायको एक जना व्यक्ति पनि मन्त्री वा सांसद नभएको हुँदा त्यसैका लागि आफूले उम्मेदवारी दिएको उनले बताए।
‘वादी, विश्वकर्मालगायत अन्य सबै जातजातिले अवसर पाए र राज्यको पहुँचमा पुगे,’ उनले भने, ‘अल्पसंख्यक गन्धर्व समुदायले अहिलेसम्म कहीँ कतै अवसर पाएको छैन। त्यो आपत्तिपूर्ण छ।’
गणतन्त्र आए पनि इमान्दारभन्दा डन र धन हुनेहरूको मात्रै राज्यमा हालीमुहाली रहेको उनले गुनासो गरे।
‘हामी पनि यो देशका नागरिक हौं र हाम्रो पनि अरूजस्तै समान अधिकार छ,’ सुशीलले भने, ‘विगतदेखि नै हामीले वल्लो गाउँको खबर पल्लो गाउँ गीत-संगितमार्फत् पुर्याउँदै आएका छौं र अहिले मैले हाम्रो समुदायको प्रतिनिधित्व गर्दै लोकबाजा लिएर त्यही सूचना प्रवाह गर्न चाहेको हुँ।’
तुलसीपुर-४ रक्षचौर गणेश टोलका ४४ वर्षीय सुशील सांगेतिक क्षेत्रमा ‘सुशील दुःखी’का नामले परिचित छन् ।
प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार आइतबार केही साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
दिउँसो साढे ३ बजेसम्म जिल्लाका विभिन्न दश पालिकामा गरी ६६ जनाले मनोनयन दर्ता गराएका छन्। जसमध्य तुलसीपुर उपमहानगरपालिकामा ११, घोराही उपमहानगरपालिकामा २५, दंगीशरण गाउँपालिकामा २०, राप्ती गाउँपालिकामा ५, लमही नगरपालिकामा १ र शान्तिनगर गाउँपालिकामा ४ जनाले मनोनयन दर्ता गराएका छन्।